बक्सअफिसमा ‘ऐंचो पैंचो’ सफल हुनेमा ढुक्क निर्देशक कृषा

कृषा चौलागाई निर्देशित सिनेमा ‘ऐंचो पैंचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । सिनेमाको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ । टिकटकदेखि मिडिया अन्तर्वार्तासम्ममा यसका कलाकार र निर्देशकलाई भ्याइनभ्याइ छ ।

कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं यतिबेला मिडिया अन्तर्वार्तामा व्यस्त छन् । टेलिभिजन, रेडियो, अनलाइनदेखि युट्युब च्यानलमा अन्तर्वार्ता दिइरहेका छन् । कलाकार आफ्ना अन्य सबै काम छोडेर प्रचारमा जुटेका हुन् ।

निर्देशक कृषाका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित सिनेमा हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि छ । तर, सिनेमा राजनीतिमा मात्रै केन्द्रित नभएको उनले बताउँदै आएकी छन् । राजनीति सिनेमाको एउटा लेयर मात्रै भएको उनले स्पष्ट पारेकी छन् ।

समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने उनी बताउँछिन् । त्यही नै सिनेमामा समेटिएको कृषाको भनाइ छ । दर्शकसँग ‘ऐंचो पैंचो’ गर्न आफू अब अन्तिम चरणमा रहेको उनको भनाइ छ । आफ्नो टिमले दर्शकलाई राम्रो सिनेमा दिने र दर्शकबाट माया पाउने अपेक्षा गरेको उनले बताइन् । यही नै ‘ऐंचो पैंचो’ भएको उनी स्पष्ट पार्छिन् ।

गीत, टिजर, ट्रेलरबाट दर्शकले पाएको माया जस्तै हलमा सिनेमाले पनि माया पाउनेमा निर्माण टिम ढुक्क छ । सिनेमाको गीत ‘काले केटाले’ धेरै टिकटक बनाइएको गीत हो । यसका कारण पनि सिनेमा सफल हुनेमा निर्देशक कृषा ढुक्क छिन् ।

नेपालबाटै लगानी उठाउँछौँ

‘ऐंचो पैंचो’का निर्माता विशाल चौलागाईले विदेशका धेरै देशका लागि सिनेमाको राइट्स बिक्री भइसकेको भन्दै उनले नेपालबाटै लगानी सुरक्षित गर्ने बताए । उनले भने, ‘यो पटक हामी नेपालबाहेक बाहिरबाट कसरी लगानी उठाउने भन्नेभन्दा पनि नेपालका थिएरटबाट कसरी टिकट बिक्री गरेर लगानी सुरक्षित गर्ने भन्नेमा केन्द्रित भएका छौँ ।’

जति धेरै दर्शकले सिनेमा हेर्छन् त्यति नै लगानी सुरक्षित हुने भएकाले यसमा अहिले आफ्नो ध्यान केन्द्रित भएको उनको भनाइ छ । उनले राजीतिक दलका नेतासँग सिनेमाको कुनै सब्मन्ध नरहेको भन्दै समाजको कथासँगै केही राजनीतिक विषय पनि समावेश भएको बताएका छन् । उनले नेकपा एमाले सचिव योगेश भट्टराईलाई पनि सिनेमाको गीत सार्वजनिक कार्यक्रममा बोलाएका थिए । उनीहरु दुवै साथी र सुवेक्षुकको नाताले आएको विशालको भनाइ थियो ।

सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।

सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माता रहेका छन् ।

Leave a Reply