पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ आउँदो माघ १९ मा प्रदर्शन हुने

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै यसका निर्देशक तथा निर्माता थापाले माघको १९ गतेबाट चलचित्र रिलिज हुने जानकारी दिएका छन् ।

चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै निर्देशक सुदर्शन थापाले फेसबुकमा लेखेका छन्, ‘कुनै एक चलचित्र मात्र नभइ पुरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यहि वर्षको माघ १९ प्रदर्शन गरिने निर्णय गरेको छौं ।’

कोरोना महामारी अगाडि नै यो चलचित्र रिलिजका लागि तयार भएको थियो । तर,विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास नेपालमा पनि बढेसँगै यसैलाई मध्यनजर गर्दै २०७६ साल,फागुन ३० गतेबाट प्रदर्शन गरिने भनिएको चलचित्रको प्रदर्शन रोकिएको थियो।

अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको मुख्य भूमिका रहेको चलचित्रको सार्वजनिक भएको ‘तिम्रो घरको वरिपरि’,‘दुःखको काँडा’ र ‘कसम कसम’ बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् ।

पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर चलचित्रको वितरण गर्नेछ ।

यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन्। शिवम अधिकारी र दिनेश न्यौपानेले चलचिको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् । चलचित्रमा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

Leave a Reply