अक्षय र मानुषीको ‘पृथ्वीराज’को टिजर सार्वजनिक(भिडियो)

बलिवुड चलचित्र ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ । एक ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ ।

चलचित्रमा अभिनेता अक्षय कुमारको शीर्ष भूमिकामा रहेको छ । हिन्दुस्तानका सम्राट पृथ्वीराज चौहानका बारेमा बन्न लागेको उक्त चलचित्रमा अक्षयले निकै मिहिनेत गर्नुपरेको बताएका छन् । चलचित्रको टिजरलाई अक्षयकुमारले ट्वीट गर्दै भनेका छन्, ‘गर्व र बहादुरीको एक वीर कहानी। सम्राट पृथ्वीराजको भूमिका निभाउन पाउँदा निकै गर्व लागिरहेको छ।’

यस चलचित्रमा अभिनेता अक्षयको जोडीको रूपमा सन् २०१७ की विश्वसुन्दरी मानुषी छिल्लर छिन् । मानुषीको यो डेब्यु चलचित्र हो । चलचित्रका लागि मानुषीले नृत्य र अभिनयसमेत सिकेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस चलचित्रमा मानुषीले राजकुमारी संयोगिताको भूमिका निभाएकी छिन्। अक्षयकुमार र मानुषी छिल्लरका साथै चलचित्रमा सोनु सुद, सञ्जय दत्त, आशुतोष राणा, साक्षी तवंर लगायतका कलाकारहरुको अभिनय रहेको छ।

चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्ने यो चलचित्र यशराजको ब्यानरमा निर्माण हुन लागेको छ । महँगो रकम खर्चेर निर्माण गर्न लागिएको यो चलचित्रमा ऐतिहासिक पक्षलाई उठान गर्ने जनाइएको छ । यो चलचित्रलाई सन् २०२२ को जनवरी २१ तारिखबाट रिलिज गर्ने निर्माण कम्पनी यशराज ब्यानरको तयारी छ ।

Leave a Reply