सोमबार फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय

नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ । आज बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

संघका महासचिव नरेन्द्र महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरु तथा संघहरुले हाम्रा सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति आगामी दिनहरुमा कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफलमा रहेको अवस्थामा नेपाली चलचित्र क्षेत्रका केही संघ संस्थाहरुले चलचित्र प्रदर्शनको सम्बन्धमा प्रकाशित भएको विज्ञप्तिप्रति नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

केही समयदेखि आफ्नो व्यक्तिगत स्वार्थबाट अभिप्रेरित भएर केही चलचित्र क्षेत्रका समूहहरुले संघका सदस्यहरुप्रति अनर्गल रुपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गर्ने, कोरोनाबाट आक्रान्त चलचित्र क्षेत्रलाई सरकारबाट संरक्षण गर्नुको साटो चलचित्र क्षेत्रलाई धरासायी बनाउने उद्देश्यले चलचित्र आयातमा बाधा उत्पन्न गराउने, स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खोज्ने, चलचित्र जाँच पास गर्दा अनावश्यक दुःख दिने जस्ता कार्यहरुको विरोधमा आन्दोलन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply