‘२ नम्बरी’बाट डेब्यु गर्न लागेकी नायिका उगेन भुटान फर्किइन्

कोरोना भाइरस (कोभिड १९)विश्वभर फैलिएको छ । कोरोना भाइरसको कहरबाट जोगिन र क्षति न्यूनीकरण गर्न चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः बैशाख १५ गतेसम्म लम्ब्याइएको छ । ‘लकडाउन’ गरेपछि नेपाली चलचित्रका हरेक गतिविधि ठप्प भएका छन् । चलचित्र ‘२ नम्बरी’को छायांकन पनि कोरोनाका कारण स्थगित गरेको थियो । यस चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी भुटानी नायिका उगेन छोदेन भने काठमाडौंमा थिइन् । ‘२ नम्बरी’को छायांकनको लागि नेपाल आएकी उनी लकडाउनको कारण नेपालमा नै रोकिनु परेको थियो ।

आज शनिबार बिहान भने उनले भुटान फर्किने अवसर पाएकी छिन् । उनलाई लिनको लागि भुटानबाट ड्रुक एअरको विमान काठमाडौं आएको थियो । नायिका उगेनले नै आफू भुटान फर्किएको सामाजिक सञ्जाल फेसबुक मार्फत बताएकी छिन् । भुटान पुगे पनि उनी तत्काल आफ्नो घरमा जान पाउने छैनन् । उनलाई २१ दिन क्वारेन्टाइनमा राखिने छ । उनको अहिले पारोको एक होटलमा क्वारेन्टाइन बसाई सुरु भइसकेको छ । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’मा उगेनले मुख्य भूमिका निर्वाह गरेकी छिन् । यस चलचित्रमा उनको जोडी दयाहाङ राईसँग बाधिएको छ । चलचित्रमा पल शाह र वर्षा राउतको पनि मुख्य भूमिका रहेको छ ।

Leave a Reply