साउथ स्टार पुनीत राजकुमारको निधन

कन्नड चलचित्र इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । पुनीतको हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार बिहान जिम क्लबमा जिम गर्दागर्दै उनलाई एक्कासि हृदयघात भएको बताइएको छ ।

हृदयघातपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् । उनको ४६ बर्षको उमेरमा निधन भएको मिडियाले उल्लेख गरेका छन् ।

उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् । पछि उनी कन्नड चलचित्रमा सबैभन्दा महँगा अभिनेता बनेका थिए ।

पुनीतको जन्म सन् १९७५ मार्च १७ मा भएको हो । भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो । उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

पुनीत कन्नड चलचित्रका सुपरस्टार डा. राजकुमारका छोरा हुन् । पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । पुनीतको निधनपछि उनको निवासमा फ्यानको भीड लागेको छ ।

पुनीतको निधन भएपछि कर्नाटक राज्य सरकारले बिदाको घोषणा गरेको छ । राज्य सरकारले राज्यमा भएका सबै थिएटर बन्द गरेको छ । पुनीतको फ्यानलाई नियन्त्रणमा लिनका लागि कैयौं इलाकामा धारा १४४ लागु गरिएको छ । पुनीतको निधनपछि कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मई बेङ्लुरु अस्पताल पुगेका थिए ।

Leave a Reply