दयाहाङ र आँचलको ‘डिग्री माइला’को छायांकन ओखलढुंगाबाट सुरु

निर्देशक रामबाबु गुरुङको चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन ओखलढुंगाको रुम्जाटारमा सुरु भएको छ । गएको शनिबार नक्साल भगवती मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको शुक्रबारबाट क्यामेरा पूजा गर्दै छायांकन थालिएको हो । फिल्मको पहिलो चरणको छायांकन रुम्जाटारमै गरिनेछ ।

छायांकन सेटबाट प्राप्त तस्वीरमा निर्देशक गुरुङसहित अभिनेता बुद्धि तामाङ, अभिनेत्री आँचल शर्मा लगायतलाई देख्न सकिन्छ । अभिनेता दयाहाङ राईले भने सोमबारदेखि सुटिङ सेट ज्वाइन गर्नेछन् ।

पहिलो चरणको छायांकन १५ दिन चल्ने र दोस्रो चरणको मंसिरमा हुने बताईएको छ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा गरिने जनाइएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिने फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको पनि अभिनय रहनेछ । दयाहाङ र आँचलबीच पहिलो पटक फिल्ममा सहकार्य जुरेको हो । उनीहरुले एउटा म्यूजिक भिडियोमा भने एकसाथ अभिनय गरेका थिए ।

२०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए । बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । आगामी वर्ष (२०८१)को नयाँ वर्षमा फिल्म प्रदर्शन हुने निश्चित भैसकेको छ ।

Leave a Reply