‘आमा’ को गरिमालाई कायम राखेको चलचित्र ‘आमा’


राजिब खत्री
समिक्षाको तात्पर्य हो कुनैपनि रचना वा चलचित्रको समुचित तरिकाले हेर्ने र फेरि त्यसमाथी राय दिनु ।


साहित्यमा समालोचनाको शुरुवात धेरै वर्षअघिदेखी भएको पाइन्छ । सहि अर्थमामा भन्ने हो भने यसको पूर्विय दर्शनसँगै विकसित भएको मानिन्छ ।


पहिलो कुरा त हामीलाई थाहा छ समिक्षा किन आवश्यक छ, दोस्रो समिक्षा कस्तो हुनुपर्छ, तेस्रो प्रश्न समिक्षा कसको गर्ने हो र चौथो समिक्षा कसले गर्ने ।


कोही पनि निमार्ता, निर्देशक, रचनाकार जतिबेला सृजना गर्छन तव सृजनाको सन्दर्भमा आफ्नो ह्दयमा प्रस्फुटित समग्र भावनाको पूर्णरुपले शृगांरेर सुव्यवस्थित गर्दछन् । उसलाई लाग्छ उसको सृजना उत्कृष्ठ छ । तर, यो जव कोहि समालोचनाको हातमा पर्छ तव समिक्षकले आफ्नो ज्ञानको तराजुमा राखेर मुल्यांकन गर्दछ । अनि तर्क वितर्कका साथ त्यसलाई सम्बन्धित लक्ष सहित आफ्नो निर्णय प्रस्तुत गर्दछन् । जसको परिणाम रचनाकार सृजनाका क्रममा सचेत हुन्छन् ।


रचनाकार वर्तमानमा बाचेको हुन्छ भने समालोचना अतितको ज्ञान लिएर बसेको हुन्छ । तव मात्र उसले रचनालाई सहि तौलिएर मूल्य राख्न सक्दछ । निश्कर्षमा भन्दा रचनाकार र आलोचक दुवै एकअर्कामा आश्रित र आवश्यक हुन्छन् । रचनाकारले आलोचनालाई उपहार सम्झिएर ग्रहण गरेमात्र आगामि सृजना सुन्दर हुन सक्छ ।


आज चलचित्र ‘आमा’ को अनूभव राख्दै छु । जुन मैले केहि समयअघि मात्र हेरेको थिए । पहिलो कुरा म माफी चाहन्छु, म समिक्षक हैन । समिक्षकले विषयवस्तु, परिवेश, प्रविधी र कला अनि के के को तुलोमा राखेर समिक्षा गर्छन । तर म मात्र आम दर्शकको रुपमा मेरो भावनात्मक अनुभूति राखेर कुरा गर्छु । जुन अपाच्य या बालकको तोते बोली जस्तो हुन सक्छ ।

आमा जव मैले हलमा गएर हेरे तव यस चलचित्रले मलाई अत्याधिक प्रभावित बनायो । यो चलचित्र जगतको अहिलेको ताततातो मसला हो । पछिल्लो समय हास्य चलचित्रले बजार लिइ रहेको बेला फरक किसिमको भावनात्मक चलचित्र हो ‘आमा’ । अधिकांस चलचित्रमा मारपिट, बेतुकका नृत्य, प्रेम कथा, हास्यव्यंग्य अनि अनावश्यक रोनाधोना आदि अवश्य हुन्छन् । तर, आमा यस्तो चलचित्र हो जसले वर्तमान जीवनको वास्तविकतालाई उजागार गर्दछ ।

चलचित्रको कथा आमा र छोरी अर्थात मिथिला शर्मा र सुरक्षा पन्तको वरिपरी घुम्दछ । गाउँमा बाबु भर्याङबाट लड्छन् । तर अस्पतालसम्म पुर्याउने सन्तान र सहयोगी गाउँमा हुदैनन् । आमाले नै एम्बुलेन्समा राखेर शहर ल्याउँ छिन् । शहरमा छोरी ज्वाई छन् जसले आफ्नो कर्तव्य पुरा गर्छन् । छोरा अमेरिका छन् । अस्पतालमा बाबुको टाउकोको अप्रेसन गर्नु पर्ने डाक्टरले बताउँछन् । हो, अव कथा यहिबाट सुरु हुन्छ ।

चलचित्रमा कुनै टुइस्ट छैन, तर कौतहलताले बाधी रहन्छ । परिवेश धेरै छैन । तर कथा एक पाराले सरर बगेको छ । दर्शकको आँखा भट्किदैन । आँखामा आसु धारा बगि रहदैन तर रसाई रहन्छ । जसरी आमाको ममता ।


यस चलचित्रमा ४ जना आमाहरुले कथालाई सशक्त बनाएका छन् । पहिलो आमा मिथिला शर्मा । जो दोस्रो पुस्ताकी आमा पनि हुन् । जसको २ सन्तान छन् । वृद्ध अवस्थामा विरामी श्रीमान्को उपचारमा तल्लिन छिन् । दोस्रो भर्खरै सुत्केरी भएकी आमा सरिता गिरी । जो आमा त बनिन्, तर ममताको स्पर्सले आफ्नो सन्तानलाई मुर्सान पाएकी छैनन् । जन्मिएदेखी अस्पतालको आइसियूमा राखिएको छ । तेस्रो निःशन्तान आमा सुरक्षा पन्त । जो आमा बन्न हर उपाय खोजि रहेकी छिन् । उनि श्रीमती, बुहारी र बाबुआमा प्रतिको सन्तानको जिम्मेवारी पुरा गर्न तल्लिन देखिन्छन्, भने चौथो लक्ष्मी भुषाल । जो भएका एक छोरा विदेशमा कान्छो नातीसँग बस्छन् भने उनि आफु शहरमा कोठा भाडामा लिएर बसेका जेठो नातीसँग बस्छिन् । उनि नातिनी बुहारी प्रति कडा मिजासको तर मनको दायालु स्वभावकी पात्रको रुपमा देखिन्छिन् ।


थिएटर र चलचित्रमा उतिकै सशस्त मिथिला शर्माको अभिनयमा कहिँकतै खोट लगाउँने ठाउँ छैन् । सुरक्षा पन्तको अभिनय पनि अव्ल देखिन्छ । चलचित्रमा कथाले मागेको दृष्य दिएको हो भन्दै वेड सिन दिएर चर्चामा आउँने नायिकालाई नारीको सुन्दरताको प्रतिक मानिने कपाल नै काटेर कथाको मर्मलाई धर्म बनाएकी छन् । थिएटरबाट नै आएकी सरिता गिरीको अभिनयमा पनि कहिँकतै खोट लगाउँन सकिदैँन । अन्य कलाकारहरु मनिष निरौला, देशभक्त खनाल, टिका पहारी र आशान्त शर्माको भूकिा पनि उतिकै शसक्त छन् ।

बाध्यताले विदेशमा रहेका नेपाली युवाहरुको बास्तविकतालाई चलचित्रले चित्रित गरेको छ । बाबु विरामी हुदाँ फर्किन नसकेको छोराको अवस्था, उसका बाध्यतालाई मन छुइने गरि प्रस्तुत गरिएको छ । विदेशमा बस्ने छोरालाई चलचित्रमा देखाईएको छैन । फोनमा मात्र सुनिने छोरा अर्पण थापाको भूमिका शुन्यतामा पूर्णता छ । जो आमा बाबुको मृत्युमा पनि आउँन सकदैनन् । यो धेरै नेपालीको अहिलेको यथार्थ कथा पनि हो ।


चलचित्रले आमा बुबा प्रति सन्तानको कर्तव्यलाई नयाँ ठंगले प्रस्तुत गरेको छ । पुरुष प्रधान समाजमा छोरा प्रतिको अपेक्षा बढी भएपनि छोरीले पुरा गरेको कर्तव्य र परिवर्तनको उदघोषलाई चलचित्रले स्पष्ट आवाजमा बुलन्द गरेको छ ।


कथाले नजानिदो पारेले बाध्यतामा परेका माथी धर्मको व्यापार गर्न पल्किएका गिरोहलाई मिथिला शर्माको थप्पड मार्फत गतिलो चड्कन दिएको छ । त्यसैगरि स्वास्थ्य सेवाकोे नाम व्यापार गर्ने पाँच तारे अस्पतालको रोगलाई पनि चिरफार गरेको छ ।


अनेक तडकभडक नहुनु नै चलचित्रको सौन्दर्य बनेको छ । आमा चलचित्रले आमाको गरिमालाई कायम राखेको । निर्देशक दिपेन्द्र के खनालले पशुपती प्रसाद हेरर एक किसिमको अपेक्षा सहित हलमा पुगेका दर्शकलाई १ घण्टा ५२ मिनेटसम्म कहिँपनि निरास गराउँदैनन् ।

चलचित्रका कम्जारी पनि छन् । मैले सुरुमै भनेको छु म समिक्षक होइन । त्यसैले प्राविधिक पक्ष महसुस गरेपनि भन्न सक्दिन । अनि जवरजस्ति कम्जोरीकालागि कम्जोरी पनि खोज्न चाहिँन ।

हास्य र एक्सन फिल्म हेरी रहेका दर्शकलाई यस चलचित्रले फरक स्वाद पस्कने निश्चित छ ।

Leave a Reply