‘धुर्मुस’ले गरे आमाहरूलाई सहयोग

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेको छ । वर्षमा विरलै घरमा फुर्सदसँग बस्न पाउने सेलिब्रेटीहरु अहिले परिवारसँग समय काटिरहेका छन् । सामाजिक सेवामा पनि सक्रिय हाँस्यकलाकार सिताराम कट्टेल पनि घरभित्रै नजरबन्द छन् । उनी, चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागिपरेका छन् । तर, लकडाउनका कारण अहिले रंगशाला निर्माण कार्य रोकिएको छ । लकडाउनमा घरमै रहँदा पनि सिताराम र कुञ्जना घिमिरेले चेतनामुलक भिडियो सामाग्री भने तयार पारिरहेका छन् र घरमै विशेष सावधानी अपनाउन पनि अपिल गरिरहेका छन् ।

उनै सिताराम बिहिबार मातातिर्थ औँसीको दिन सडकमा निस्किए । आमाको मुख हेर्ने दिनमा केही आमाहरुको अनुहारमा खुशी ल्याउने आशा सहित उनले विभिन्न स्थानमा पुगेर रकम सहयोग गरेका छन् । मृगौला विरामी, दृष्टिबिहिनदेखि हिडेरै काठमाण्डौबाट घर जाँदै गरेका मानिसहरुलाई उनले नगद सहयोग गरेका हुन् । काठमाण्डौबाट हिडेरै भकुन्डेबेसी जान लागेकी एक आमालाई भेट्दा उनको आँखा रसाएको थियो । धुर्मुसले सबैलाई विपन्न तथा गरिब परिवारलाई सहयोग गर्न अपिल पनि गरेका छन् । केहि दिन अघि पनि धुर्मुस सुन्तली फाउन्डेसनमार्फत ‘धुर्मुस’ र उनकी पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ले लकडाउनका कारण समस्यामा परेका कीर्तिपुरमा बसेका त्रिभुवन विश्वविद्यालयसहितका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई राहतस्वरुप चामल, दालसहित खाद्यान्न प्रदान गरेका थिए ।

Leave a Reply