‘हिजो आजका कुरा’ को पहिलो ‘माया जदौ’ गीत सार्वजनिक, को को कलाकार नाचे गीतमा? (भिडियो)

२०७७ सालको बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ । दीपक शर्माको संगीत रहेको गीतमा शब्द आनन्द अधिकारीको रहेको छ । उक्त गीत बलिउड चलचित्र ‘ओम शान्ति ओम’ को गीत ‘दिवान्गी दिवान्गी’ शैलीमा तयार पारिएको छ । उता बलिउडका चर्चित कलाकारहरु गीतमा जसरी इन्ट्री गर्छन्, यता पनि त्यही शैलीमा नेपाली कलाकारहरुलाई प्रवेश गराइएको छ ।

चलचित्रको कथाको मागअनुसार गीतमा नेपाली कलाकारहरुलाई प्रस्तुत गरिएको निर्देशक साकार पन्तले जानकारी दिए । बिहेको माहोलमा गीत खिचिएको छ ।  गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

गीतको भिडियोमा कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मासँगै दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, नम्रता श्रेष्ठ, शिवहरी पौडेल, बसुन्धरा भुषाल, भुवन चन्द, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, नविन के. भट्टराई, नितेश जंग कुँवर, नीर शाह, लूनिभा तुलाधर, धिरेन शाक्य , सङ्गीतकार शम्भुजित बास्कोटा, निर्देशक दिनेश डिसी लगायत फिचर्ड छन् ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर चलचित्र निर्माण भएको हो । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा चलचित्र निर्माण भएको बताइएको छ ।

रवि सायमीले खिचेको चलचित्रको कथा सन्तोष सन्त र साकार पन्तको हो भने, सन्दीप किस्नाको पटकथा छ । ‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै अभिनय रहेको चलचित्रमा केकी, ऋचा र रिमासँगै जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतको पनि अभिनय छ ।

Leave a Reply