अर्को वर्षको दसैँमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ रिलिज हुने

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय भएको छ । चलचित्र अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुने भएको छ । प्रणय दिवसको अवसर पारेर निर्माणपक्षले एउटा भिडियो सार्वजनिक गर्दै चलचित्र २०७७ सालको कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि चलचित्रबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए ।

फागुन दोस्रो साताबाट ‘ए मेरो हजुर ४’ को छायांकन सुरु हुँदैछ । चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि अभिनय रहनेछ । सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्र नेपाल, ओमान र हल्याण्डमा खिचिने बताइएको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्न लागेको चलचित्र ‘छक्का पञ्जा ४’ र मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण तथा अभिनय गर्ने चलचित्र पनि आउँदो वर्षको फूलपातीमा प्रदर्शन हुँदैछ । अब, यी दुई चलचित्रसँग भिड्न चलचित्र ‘ए मेरो हजुर ४’ थपिएको छ ।

Leave a Reply