‘चपली हाइट ३’को ‘चार आनाको मसला’ गीतमा उत्कृष्ट टिकटक बनाउनेले बैंकक घुम्ने मौका

‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’मा समावेश पहिलो ‘चार आनाको मसला’ बोलको गीत सार्वजनिक गरे लगत्तै निर्माण टिमले चलचित्रको प्रचारप्रसार तीव्र गरेको छ । यसबीच चलचित्रप्रति दर्शकको चासो बढाउन निर्माण टिमले दर्शकलाई बैंकक घुमाउने उपहार योजना ल्याएको छ । र, त्यसका लागि चलचित्रको ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्नेछ ।

चलचित्रका निर्माता अर्जुन कुमारले प्रथम हुनेलाई बैंकक घुमाइने बताए । सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियोमध्ये एउटालाई विजेता घोषणा गरिने बताइएको छ । यो प्रतियोगिताले चलचित्रको प्रचार-प्रसारमा ठूलो सघाउ पुर्‍याउने विश्वास निर्माण टिमले लिएको छ । चलचित्रको ‘चार आनाको मसला’ बोलको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

सस्पेन्स थ्रीलर कथामा निर्माण गरिएको चलचित्र ‘चपली हाइट ३’लाई काठमाण्डौ र यसको आसपासको क्षेत्रमा खिचिएको छ । आउँदो चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम र महेश त्रिपाठीसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यो चलचित्रको बक्सअफिसमा चलचित्र ‘प्रेमगीत ३’ सँग भिडन्त हुनेछ । नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply