‘चपली हाइट ३’ को पहिलो ‘चार आनाको मसला’ बोलको गीत सार्वजनिक (तस्बिर र भिडियो सहित)

‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चार आनाको मसला’ बोलको गीतमा राम खम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ ।

सुभाष भुषालको संगीत रहेको डान्सिङ नम्बरको गीतमा शब्द डिपी खनालको रहेको छ । गीतलाई उदय राज पौड्येलले एरेन्ज गरेका हुन् । प्रदीप लामा र द नेक्स्ट टिमको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम फिचर्ड छन् । गीतको भिडियोमा अभिनेत्री द्वय स्वस्तिमा र सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत छन् । गीतको अडियो र भिडियो राम्रो रहेको छ ।

सस्पेन्स थ्रीलर कथामा निर्माण गरिएको चलचित्र ‘चपली हाइट ३’लाई काठमाण्डौ र यसको आसपासको क्षेत्रमा खिचिएको छ । आउँदो चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘चपली हाइट ३’ मा स्वस्तिमा, सुपुष्पा, आमिर र महेशसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यो चलचित्रको बक्सअफिसमा चलचित्र ‘प्रेमगीत ३’ सँग भिडन्त हुनेछ । नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply