‘२ नम्बरी’ मा दयाहाङ, पल र वर्षा

यस वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा चलचित्र ‘२ नम्बरी’को निर्माण हुने भएको छ । आज सोमवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र पल शाहसँग अभिनेत्री वर्षा राउतको जोडी बाँधेका छन् । चलचित्रमा बुद्धि तामाङको पनि प्रमुख भूमिका रहनेछ ।

चलचित्र ‘२ नम्बरी’को बिषयमा निर्देशक लामाले भने–‘एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्नेछ । साथमा, चलचित्रले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ ।’

चलचित्रको नाम ‘२ नम्बरी’ भएपनि यसलाई नेगेटीभ रुपमा हेर्न नहुने निर्देशक लामाले बताए । उनले, यसलाई मित्रताको कथाको रुपमा वुझ्न सबैसँग आग्रह गरे । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।

किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । यो चलचित्रको छायांकन माघको २५ गतेबाट सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यो चलचित्रलाई आउँदो बर्ष २०७७को जनैपूर्णिमामा रिलिज गर्ने जानकारी निर्माता किरण नेपालीले दिए ।

Leave a Reply