चुनाव हारेपछि रेखा लेख्छिन्, ‘राजनीतिमा जित्नु वा हार्नुको अर्थ रहँदैन’

कलाकारिताबाट राजनीतिमा लागेकी नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाप्रति धेरैको चासो थियो । उनले मोरङ क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थिइन् तर पराजित भएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गर्दै विजयी हुँदा रेखाले १० हजार ९ सय ८९ मत प्राप्त गरिन् ।

पहिलो पटक संघीय निर्वाचनमा प्रतिस्पर्धा गरेकी रेखाले पराजित भएपछि फेसबुकमा स्टाटस लेख्दै राजनीति लामो समयको यात्रा हो । यसमा जित्नु वा हार्नुको मात्र अर्थ नरहने बताएकी छन् । उनी अगाडि लेख्छिन्, ‘उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन । तर निर्वाचित हुने एक जना मात्र हो । सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरा सामु थियो । मैले त्यो अवसरको लोभ नगरि प्रत्यक्ष उम्मेदवार बनेको थिएँ ।’

उनले निर्वाचित उम्मेदवार शर्मालाई बधाई तथा शुभकामना दिँदै लेखेकी छन्, ‘निर्वाचनबाट पराजित हुँदैमा म अब तपाईँहरुबाट टाढा हुने नसोच्नु होला । मेरो निर्वाचन क्षेत्रका हरेक सुख दुख बाँड्न म सँधै सँगै हुनेछु । यो निर्वाचनबाट निर्वाचित सुनिल शर्माजीका राम्रा काममा काँधमा काँध मिलाउनेछु तर बाटो बिराए बिना हिच्किचाहट खबरदारी गर्नेछु ।’ आफूलाई सँधै हौसला दिने अन्य हजारौँ नागरिकप्रति सँधै कृतज्ञ रहिरहने बताउँदै रेखाले निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको पनि उल्लेख गरेकी छन् । उनी अगाडि लेख्छिन्,‘आदरणीय मोरङ ३ का बासिन्दाहरू यसपटक निर्वाचन जितेर तपाईँहरुका आवाज संसदमा राख्ने अवसर नपाए पनि तपाईँले अब आफ्ना आवाज थप बलियो बनाउने मान्छेका रुपमा मलाई पाउनुहुनेछ । हाम्रो सहकार्य र हातेमालो पनि कायमै रहनेछ ।’

गत मंसिरमा भएको पार्टीको महाधिवेशनमा उनी महामन्त्रीको उम्मेदवार पनि बनेकी थिइन् तर, पराजित भइन्। झन्डै तीन दशक लामो अभिनय करिअर रहेको रेखाको राजनीतिक यात्रा भने माओवादी केन्द्रबाट सुरु भएको थियो। २०७० सालमा उनले माओवादी केन्द्र प्रवेश गरेकी थिइन् ।

Leave a Reply