अनमोलको ‘छड्के २’ ‘छक्का पञ्जा ४’सँग भिड्ने

अभिनेता अनमोल केसी नयाँ ग्याङस्टर चलचित्र ‘छड्के २’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । पोस्टरमा अभिनेता अनमोल केसी ग्याङस्टर लुक्समा जबर्जस्त छ। पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि फिचर्ड छन् ।

‘छड्के २’का निर्माताले पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेपछि यस वर्षको फागुन १९ गते भिडन्त हुने निश्चित भएको छ । दीपकराज गिरीको चलचित्र ‘छक्कापञ्जा’को चौथो श्रृंखलासँग अनमोलको छड्के २ भिड्ने छ । यो मितिमा ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ले पनि प्रदर्शन मिति रोजेका छन्।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनमोलसहित रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा मुख्य भूमिकामा छन् । डेब्यु गर्ल रेशा आले मगर अनमोलको जोडी हुनेछिन् । यो ग्याङस्टर चलचित्रले जडिबुटी ओसारपोसारमा दुई ग्याङबीच हुने लडाइँको कथा भन्छ । सन् २०१३ को फिल्म ‘छड्के’कै दोस्रो श्रृंखला रहेको फिल्म रिभेन्ज ग्याङस्टर चलचित्र हो ।

चलचित्रको मनाङ र चितवनमा ६० दिन छायांकन गरिएको थियो । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्वाणा फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

Leave a Reply