‘गोर्खा : बिनिथ द ब्रेभरी’ भोलीदेखि बेलायतमा प्रदर्शन हुँदै

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित चलचित्र ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ बेलायतमा प्रदर्शन हुने भएको छ । २९ जुलाई २०२२ (शुक्रवार) बाट बेलायतका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शन हुन लागेको हो।

बेलायत प्रदर्शनमा चलचित्रलाई ह्याम्पशायर एकाउन्टेन्टले प्रायोजन गरेको छ भने कुकुरी रमले प्रमोशनमा सघाएको छ । यो चलचित्र सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने निश्चित भएको छ ।

प्रदीप शाही निर्देशित चलचित्रमा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपालमा चलचित्रलाईआरआर फिल्मस् (रोहित-रत्न) ले वितरण गर्नेछ ।

आगामी भदौ २४ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको चलचित्रको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर चलचित्र बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन चलचित्र निर्माण गरेको जानकारी दिएका छन् । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथामा चलचित्र बनेको हो ।

Leave a Reply