मिथिला शर्मा र विदुर गिरीलाई ‘हरितारा चलचित्र पुरस्कार’

अभिनेत्री मिथिला शर्मा र चलचित्र पत्रकार विदुर गिरीलाई परिवर्तन नेपालले यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरेको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशीसहित सम्मान पत्र प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलालाई ‘परिवर्तन नेपाल पत्रकारिता सम्मान’बाट सम्मानित गरियो ।

त्यस्तै, परिवर्तन नेपालले ‘दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गर्‍यो । यो पुरस्कारको राशी जनही दश हजार रुपैयाँ छ । ११ हजार १ सय ११ रुपैयाँ राशीको चेतन कार्की स्मृति पुरस्कार भने अभिनेता तथा निर्देशक देशभक्त खनाललाई प्रदान गरिएको छ । उक्त कार्यक्रममा अन्य फिल्मकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

२०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्वर्गीय विजय राणाले स्थापना गरेको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोजशमशेर राणा र सदस्य सचिवमा चलचित्रकर्मी मोहन निरौला छन् ।

चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने चलचित्रकर्मी निर्देशक मदन घिमिरे, निर्देशक ज्ञामनेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गरियो ।

समारोहमा अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल÷अभिनेत्री दीपाशा व.सी., खेलाडी÷कलाकार नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान अर्पण गरिएको थियो । उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो ।

समारोहमा कलाकार÷निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्रकर्मी मदनदाश श्रेष्ठ, देशभक्त खनाल र मनोज के.सी.ले मन्तव्य राख्नु भएको थियो ।

समारोहको व्यवस्थापन निर्देशक माधवराज खरेलको संयोजकत्वमा निर्देशक विश्वदीप घिमिरे, कलाकार प्रल्हाद खरेल र संचारकर्मी राममणि ढकाल सदस्य रहेको समितिले गरेको थियो । समारोहमा चलचित्रकर्मी र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply