छायांकन भएको ल्वाङ गाउँमा प्रोजेक्टरबाट देखाइयो ‘२ नम्बरी’

दशैंको अवसरमा गत असोज २१ बाट प्रदर्शनमा आएको निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ । हलमा सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्रले दोस्रो सप्ताहन्तसम्म ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाएको छ ।

बक्सअफिसमा धमाका मचाएको ‘२ नम्बरी’लाई निर्माताले छायांकन भएको गाउँमा प्रोजेक्टरमार्फत् देखाएका छन् । चलचित्रको सम्पूर्ण कास्कीको छायांकन ल्वाङ गाउँमा भएको थियो । गाउँमा सुविधा नभएकाले चलचित्र हेर्न नपाएका स्थानीयलाई निर्माण टिमले बिहीवार चलचित्र देखाएको हो । उक्त चलचित्र हेर्न ल्वाङ गाउँका २ सयभन्दा बढी स्थानीयहरु सहभागी भएका थिए ।

चलचित्र ‘दुई नम्बरी’ सफल हुनुमा कास्कीको ल्वाङ गाउँका स्थानीय वासिन्दाहरुले छायांकनका क्रममा देखाउनुभएको सद्भाव र सहयोगको पनि ठूलो भूमिका रहेको त्यसैले उहाँहरुको सम्मानस्वरुप हामीले ल्वाङ गाउँमै पुगेर स्थानीय वासिन्दामाझ चलचित्र प्रदर्शन गरेको प्रस्तुतकर्ता किरण नेपालीले बताए ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन (भुटानी अभिनेत्री), उपासना सिंह ठकुरी र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । चलचित्रमा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । चलचित्रले पहिलो सप्ताहमा मुनाफा कमाइसकेकोले निर्माण टिमले प्राविधिकहरुलाई बोनस बाँड्ने निर्णय पनि गरेको छ । बोनस रकम कति दिने भन्नेबारेमा केही फाइनल भएको छैन ।

एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथा भन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गरेको छ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply