विराजको एक्सन अवतरमा ‘साङ्लो’को ट्रेलर सार्वजनिक (भिडियो/फोटो सहित)

करीब ३ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका अभिनेता विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीको वान सिनेमाजमा आयोजना गरिएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले सामाजिक कथामा एक्सनले भरिपूर्ण चलचित्रको रुपमा ‘साङ्लो’लाई ब्याख्या गरेको छ ।

किड्नी तस्करीको कथा बोकेको चलचित्रको ट्रेलरमा पूर्व मिस नेपाल निकिता र विराजको लभ केमेस्ट्री पनि देख्न सकिन्छ । नेपालको सुदूरपश्चिममा छायांकन भएको चलचित्रमा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतको कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् ।

काफिया फिल्मस् र एफडी वितरक कम्पनीको ब्यानरमा बनेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ । चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । आगामी माघ २४ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्रलाई भोजपूरी भाषामा पनि डब गरिएको छ ।

‘एक्सन स्टार’ विराज भट्ट लामो समयपछि पर्दामा फर्किएका कारण ‘साङ्लो’ दर्शकमाझ प्रतिक्षीत छ । विराजको निर्देशन र निकिताको अभिनयमा डेब्यू चलचित्र भएका कारण ‘साङ्लो’ माथि धेरैको चासो छ । टाउको पोस्टरमा राखेको भरमा चलचित्र ब्लकबस्टर हुने विराजको ‘साङ्लो’ ले फर्काउला त पुरानो क्रेज ?

Leave a Reply