दयाहाङको ‘नीरफूल’ प्रदर्शन कोरोनाका कारण स्थगित

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ। यसैलाई मध्यनजर गर्दै दयाहाङको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’ को प्रदर्शन स्थगित भएको छ । फाल्गुन ३० गते शुक्रबार प्रदर्शन हुने भनिएको अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको अभिनय रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अनिश्चितकालका लागि स्थगित गरिएपछि उक्त चलचित्रको रिलिज मिति पनि स्थगित गरिएको हो ।

चैत ७ गते प्रदर्शन गरिने भनेर गत साता ट्रेलर रिलिज गरिएको थियो । यसअघि ३० फागुनमै रिलिज हुने भएिको यो चलचित्र वितरक र निर्माताको सल्लाहअनुसार ७ चैत्रलाई सारिएको हो । चलचित्रको प्रदर्शन मिति सारेसँगै निर्माता तथा निर्देशक फूलमान बल चलचित्रको प्रचारमा व्यस्त थिए ।

निर्देशक बलले भने, ‘नेपालमा अहिलेसम्म कोरोना भाइरस नदेखिए पनि यसैको डर र मानिसहरूमा देखिएको त्रासका कारण सिनेमा हलमा दर्शक छैनन् । यस्तो अवस्थामा चलचित्र चलाउन उपयुक्त नहुने हुँदा चलचित्रको रिलिजलाई देशको परिस्थितिलाई मध्यनजर राख्दै अर्को उपयुक्त तिथि हेरेर निरफूललाई रिलिज गर्नेछौं ।’  ‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि चलचित्रको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’, निर्माण कम्पनी सेलो प्रोडक्सनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । दर्शकको पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति निर्माण टिमले माफी पनि मागेको छ ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । भने, दयाहाङको जोडीको रुपमा देखिन लागेकी शान्तिको यो डेब्यु चलचित्र हो ।

Leave a Reply