श्वेताश्री फाउण्डेशनको सक्रियतामा, चिटिक्क माझी बस्ती

नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गर्नुभएको थियो । बस्ती निर्माणको काम भने २०७४ जेठ १५ बाट थालियो । अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ । फाउण्डेशनले सहयोग गरिरहेको छ।

नायिका खड्काबाट प्राप्त रु ४० लाख र उक्त फाउण्डेशनको रु २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरेको फाउण्डेशनबाट बस्तीको प्राविधिक काम हेर्दै आउनुभएका निराजन सापकोटाले बताउनुभयो । “श्वेताश्री फाउण्डेशनको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो”, सापकोटा भन्नुहुन्छ ।

सरकारबाट प्राप्त रु एक करोड ३० लाखबाट बस्तीमा सडकलगायतका पूर्वाधारको काम जारी छ । शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई रु तीन लाख सहयोग प्राप्त थियोे । त्यसपछि प्रतिपरिवारले रु चार लाख ऋण लिएर घर बनाएका छन् । यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ । हरेक घरले मासिक रु सात हजार किस्ता बुझाउनुपर्छ ।


सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ ।

भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ । यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन् । आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन् । मुस्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए । अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन् । पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन् ।

बस्तीमा बाटोसहित बालबगैंँचा, सामुदायिक भवन, वाटर फाउण्टेन, स्वास्थ्य चौकीलगायत बनाइँदैछ । अझै पाँच सात महिना पूर्वाधार निर्माणमा समय लाग्ने अनुमान छ । आगामी चैत १ गतेसम्मको समयसीमामा निर्माण सक्न मुस्किल छ । अठ्ठाइस रोपनी क्षेत्रमा बनेको छ बस्ती । तीन आनामा एउटा घर बनेको छ । एक घरमा तीन कोठा र शौचालय छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सवइञ्जिनीयर सुमन काफ्ले सरकारले तोकेको मापदण्डअनुसार नै बस्ती निर्माण भइरहेको बताउनुहुन्छ ।

यहाँको सडकलगायत पूर्वाधार निर्माण कात्तिकबाट शुरु भएको र त्यसको म्याद चैत १ सम्म रहेको उहाँले बताउनुभयो । बस्ती निर्माणको शुरुको लागत रु १२ करोडको हो । अन्य पूर्वाधार निर्माणमा रु चार करोड थियो । अहिले भने लागत बढेको जनाइएको छ ।

Leave a Reply