‘चिसो मान्छे’को ‘जीवनको बाटोमा’ गीत सार्वजनिक

बहुप्रतीक्षित चलचित्र ‘चिसो मान्छे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘जीवनको बाटोमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको देउडा पार्टमा रेखा जोशीको स्वर सुन्न सकिन्छ, भने सिनेमाटिक शैलीमा निखिता थापाको स्वर छ । गीतमा सुदुरपश्चिमेली देउडा र सिनेमाटिक शैलीको समिश्रण छ । सुवास भुषालको संगीत रहेको गीतको शब्द रचना देउडामा हर्क साउद र सहदेव अर्यालले नेपालीमा लेखेका छन् ।

आगामी असार ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको फर्स्टलुक पोस्टर, टिजर र ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् । चलचित्रले विदेशबाट आएको शव गाडीमा लिएर काठमाडौंदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा भनेको छ । चलचित्रको ‘यूनिभर्सल सर्टिफिकेट’का साथ सेन्सर पास भइसकेको छ।

‘आमा’ निर्मात्री शर्मिला पाण्डेको एकल लगानीमा निर्माण भएको चलचित्रमा ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको निर्देशन रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनाल आफैंको हो । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संजोग रसाइली, पुष्पा अवस्ती, सृष्टि आचार्य, विकास खनाललगायतको अभिनय रहेको छ । चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथा भन्नेछ । चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा भएको हो ।

Leave a Reply