आजदेखि सुरु हुने भनिएको माग्ने बुढाको ‘कमेडी हब’को प्रसारण रोकियो

हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशन रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते आजदेखि हुने भनिएको प्रसारण रोकिएको छ । प्राविधिक तयारी नपुगेकाले कार्यक्रम आजबाट प्रसारण नहुने भएको छ । अब जेठ १८ गतेदेखि कार्यक्रम प्रसारण हुने भएको छ । आजदेखि प्रसारण हुने भनिएको ” कमेडी हब” १८ गते मात्र प्रसारण हुने जानकारी गराउनु पर्दा दु:ख लागेको घिमिरेले फेसबुकमार्फत जानकारी दिँदै व्यक्त गरेका छन् ।

शोको सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले शुभारम्भ गरेका थिए । कमेडी च्याम्पियन हिमेश पन्त, माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको शोमा प्रस्तुति रहनेछ ।

एपीवान टेलिभिजनबाट साँझ ८ बजे प्रसारण हुने शोमा नयाँ पुस्ताका कमेडी कलाकार समेत देखिने छन् । मिडिया हब निर्माता रहेको शो उत्पादनमा केदारलाई कलाकार राजा राजेन्द्रको समेत सहकार्य रहनेछ । जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृखंला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिनेछ ।

Leave a Reply