अदिती र धिरजको ‘बाबरी’ भदौ ३१ मा प्रदर्शन हुने

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’को प्रदर्शन मिति तय गरिएको छ । महाशिवरात्रीको अवसर पारेर मंगलवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

निर्माण टिमले प्रदर्शन सार्वजनिक गरेको पोस्टरमा चलचित्रका तीन मुख्य पात्रको क्यारेक्टर नाम पनि समावेश छ । चलचित्रमा अदिति ‘विजेता’, धिरज ‘बिक्रान्त’ र धिरज ‘रोनिश’को पात्रमा छन् ।
‘बाबरी’ मा नेपाली चलचित्रकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा तृप्तीको पनि अभिनय रहने बताइएको छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

बाबरी फिल्मस्को ब्यानरमा निर्माण रहने लागेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै छन् । यसअघि चलचित्र ‘आभास र कृ’ निर्देशन गरिसकेका सुरेन्द्रको दोश्रो पटक अदितिसँग सहकार्य हुन लागेको हो। चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहेको छ ।

चलचित्रमा अदितीकी आमा पुष्पा बुढाथोकी निर्मात्रीको रुपमा छिन् । सुष्मा गुरुङ सह-निर्माता रहेको चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।

Leave a Reply