‘एन्टी हिरो’ मा अनमोल र जसिताको जोडी फाइनल

चलचित्र ‘लिलिबिली’ बाट अभिनय करिअर सुरुवात गरेकी अभिनेत्री जसिताको पछिल्लो रिलिज चलचित्र ‘लभ स्टेशन’ हो । उनले निर्देशक रेनशा वान्तवा राईको ‘आई एम ट्वान्टिवान’ साइन गरेर बसेको धेरै समय भैसकेको छ । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिदैछ ।

यसै क्रममा अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा जसिता गुरुङ अनुबन्धित भएकी छन् । गएको केही महिना अगाडि नै चलचित्रमा जसिता हुने खबर बाहिरिएको थियो तर, यो कुरालाई निर्माण टिमले अफवाह बताउँदै आएको थियो । बुधवार भने चलचित्रका निर्माता भुवन केसी र अभिनेत्री जसिता गुरुङबीच कागजी सम्झौता भएको छ । ‘एन्टी हिरो’ मा जसिता गुरुङको जोडी अनमोल केसीसँग बाँधिदैछ ।

काजल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ को छायांकन बैशाख १ गतेबाट सुरु हुने निर्माता भुवन केसीले जानकारी दिए । चलचित्रका लागि लिड अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भएका छैनन् । प्राप्त जानकारी अनुसार, चलचित्रलाई एक भारतीय निर्देशकले निर्देशन गर्नेछन् । केही दिनमा निर्देशकसँग पनि कागजी सम्झौता हुने बुझिएको छ ।

चलचित्रमा भुवन केसीले पनि अभिनय गर्दैछन् । चलचित्रमा उनी नकारात्मक भूमिकामा देखिने बताइएको छ । बाबु भुवन र छोरा अनमोलले पहिलो पल्ट एकसाथ चलचित्रमा अभिनय गर्न लागेका हुन् । पहिलो पटक पर्दामा अनमोल र जसिताको जोडी हेर्न दर्शक निकै उत्सुक छन् ।

चलचित्र एक्सन-लभ स्टोरी जनरामा निर्माण हुने छ भने २०७७ सालको दसैँमा रिलिज हुने बताइएको छ ।

Leave a Reply