‘बुलबुल’ निर्देशकको ‘रबर सिटी’को छायांकन अमेरिकामा सुरु

चलचित्र ‘बुलबुल’ का निर्देशक विनोद पौडेलको निर्देशन रहने चलचित्र ‘रबर सिटी’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन १५ फेब्रुअरीबाट अमेरिकामा सुरु भएको हो । निर्देशक पौडेलले सामाजिक संजालमा चलचित्र सेटका केही तस्बिर पोष्ट गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन् ।

करिब ६ करोडको लागतमा निर्माण हुन लागेको चलचित्रको छायांकन ओहियो राज्यको एक्रोन सहरमा भइरहेको छ । छायाँकनको लागि एक महिनाको समय तालिका छुट्याइएको छ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।

निर्देशक पौडेलले शुशांक मैनालीलाई मुख्य भूमिकामा अनुबन्द गरेका हुन् । शुशांकले चलचित्र साइन गरिसकेका छन् । चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ ।

अंकित पौडेलले खिच्ने चलचित्रको कथा निर्देशक पौडेलको हो । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि शहर पुनः गुलजार बनेको थियो । ‘रबर सिटी’ ले भुटानी शरणार्थीको पुनर्वासपछिको कथालाई उठान गर्नेछ ।

Leave a Reply