‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक : पल र पूजाको माया (भिडियो)

वर्षमा एउटा मात्र चलचित्र लिएर आउने सुदर्शन थापा यस वर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् । थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत बिहीबार सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने स्वर सोनम तोप्देन र अस्मिता अधिकारीको रहेको छ । सोनम तोप्देनलाई सुदर्शनले आफ्नो नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ बाट अभिनेताको रुपमा डेब्यू गराउँदैछन् ।

सौरभ लामाको छायांकन रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । पल र पूजाको साथमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको पनि चलचित्रमा मुख्य अभिनय रहेको छ । गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ । उक्त रोमान्टिक गीतमा पाँच सयभन्दा बढी कोरसको नृत्य देख्न सकिन्छ ।

सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर चलचित्रको वितरण गर्नेछ । सांगीतिक प्रेम कथामा तयार भएको यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन्।

फागूणको २३ गतेबाट नेपालभर प्रदर्शनमा आउने चलचित्रलाई शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।

Leave a Reply