‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन अघि नै पल, पूजा र सुदर्शन हल-हलमा पुग्दै

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आगामी फागुन १३ गतेबाट प्रदर्शनमा आउँदै छ । ‘म यस्तो गीत गाउँछु २’ का कलाकारदेखि निर्देशकसम्मले चलचित्र प्रदर्शन हुने दुई हप्ता अघि नै हलमा पुगेर माहोल बुझिरहेका छन् । उनीहरुले हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नुका साथै हलका कर्मचारी र म्यानेजरसँग पनि दिनहुँ जसो भेटघाट गरिरहेका छन् । चलचित्रको प्रदर्शन नजिकिएपछि चलचित्रका कलाकारहरु पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ ‘क्रेजी’ राजधानीका हल-हलमा पुगिरहेका छन् ।

उनीहरु काठमाडौंका सिभिल, छायाँ सेन्टर, बीग मुभिज, एफक्यूब लगायतका मल्टीप्लेक्स हलहरु पुगेका हुन् । हल भ्रमण गर्नुको कारणबारे निर्देशक सुदर्शन थापाले भने– ‘हामी हलहरुको अवस्था के छ र दर्शकहरुले चलचित्रको बिषयमा के भन्नुहुन्छ भनेर बुझ्नका लागि हलमा पुगेका हौं । चलचित्र निकै मेहेनतका साथ बनाएकाले दर्शकको ठूलो संख्या हलसम्म पुग्नेमा हामी विश्वस्त छौं ।’

चलचित्रको सार्वजनिक भएको ‘तिम्रो घरको वरिपरि’,‘दुःखको काँडा’ र ‘कसम कसम’ बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् । सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply