चलचित्र ‘लाखे’को एकसाथ दुई युनिट बनाएर छायांकन

कोरोना संक्रमणका कारण नेपाल चलचित्र विकास बोर्डले स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाभन्दा कमको टिममा चलचित्र छायांकन गर्न सकिने जनाएको छ । तर, चलचित्र छायांकनमा प्रतिबन्ध नलगाए पनि सरकारले संक्रमण फेरि फैलिन थालेपछि सिनेमा हलहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो।

चलचित्र ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘लाखे’ को यतिबेला काठमाडौंमा धमाधम छायांकन भइरहेको छ । गत पुष अन्तिमबाट छायांकन सुरु भएको चलचित्रको कोरोना संक्रमणलाई मध्यनजर गर्दै निर्माण टिमले एकै समयमा दुई यूनिट बनाएर छायांकन गरिरहेको छ ।

एउटा चलचित्र छायांकनका लागि दुई युनिटले काम गरेको नेपालको सम्भवतः यो पहिलो हो । यसरी काम गर्दा चलचित्रका प्राविधिकदेखि धेरै युनिट समेत दुई सेट चाहिन्छ । ६ करोडको लागत अनुमान गरिएको मल्टिस्टार चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायतको अभिनय छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।

Leave a Reply