निर्मल पुर्जा ‘निम्स दाइ’को ‘फोर्टिन पिक्स’ नेटफ्लिक्समा सार्वजनिक

 विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामा आरोहण गरेर विश्व कृतिमान राखेका आरोही निर्मल पुर्जा पुनको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’  सोमबार नेटफ्लिक्समा सार्वजनिक भएको छ । यो वृत्तचित्र १९१ देशमा ३१ भाषामा प्रस्तुत गरिने छ ।

३६ वर्षीय पुर्जाले ‘प्रोजेक्ट पसिबल’ अन्तर्गत १४ वटा हिमालको सफल आरोहण गरेका थिए ।  वृत्तचित्रमा नेपालको हिमाल आरोहणको इतिहासलाई पनि समेटिएको छ । पुर्जाले छोटो समयमा गरेको हिमाल आरोहणको यात्रा वृत्तचित्रको प्रमुख विषय हो ।

सन् २०१९ अप्रिल २३ मा अन्नपूर्ण हिमाल आरोहणबाट याे यो यात्रा सुरू गरेका उनले अक्टोबर २९ मा सिसापाङ्गमा हिमाल सफलतापूर्वक आरोहण गरेका थिए । यी दुईलगायत उनले आफ्नो प्रोजेक्टअन्तर्गत मनास्लु, चोयु, ब्रोड पिक, केटु, गासरब्रम १, गासरब्रम २, नागा पर्वत, मकालु, सगरमाथा, ल्होत्से, कन्चनजङ्गा र धौलागिरी हिमाल आरोहण गरेका छन् ।

यसमा पुर्जाको व्यक्तिगत जीवनको उतारचढावलाई पनि समेटिएको छ । पुर्जाले डकुमेन्ट्रीमा यो मिसनको उद्देश्य, सुरुवात, टिम र अनुभवको विषयमा कुरा गरेका छन् ।

Leave a Reply