‘सत्यम्’ मा मलिकाको ठाउँमा उपासनाको इन्ट्री

आउँदो मंसिर दोस्रो हप्ताबाट छायांकनमा निस्कने तयारी रहेको चलचित्र ‘सत्यम्’मा नायिका मलिका महतले पढाइको कारण देखाउँदै काम नगर्ने भएकी छिन् । अब उनको स्थानमा निर्माण टिमले अभिनेत्री उपासना सिंह ठकुरीलाई अनुबन्ध गरेको छ । उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् । पलले उपासनासंग पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् ।

शुरुमा यो चलचित्रमा उपासनाले काम गर्ने पक्का भएको थियो । तर, उपासनाले पढाइको कारण देखाउँदै चलचित्रमा काम गरिनन् । उपासनाले काम नगरेपछि यसको निर्माणपक्षले नायिका महतसँग सम्झौता गर्‍यो । मलिका चलचित्रको वर्कसपमा पनि सहभागी भइन् । तर, वर्कसपमा सहभागी भइरहेको समयमा नै मलिकाले चलचित्र छाड्ने निर्णय गरिन् ।

तिहारअघि धम्पुसमा दश दिनसम्म चलचित्रको वर्कसप भएको थियो । यस चलचित्रमा राजेश हमाल, पल शाह, अनुपविक्रम शाही, किशन सुनार, मिलन सिजापतिको मुख्य भूमिका रहनेछ । चलचित्रमा राजेश हमालको जोडीको रुपमा भने मोडल तथा भिजे नीलम चन्द अनुबन्ध भइसकेकी छिन् । चलचित्रमा उनी हमालको प्रेमिकाको भूमिकामा देखिने छिन् ।

राजेश हमाल चार वर्षपछि ‘सत्यम्’बाट कमब्याक गर्दैछन् । हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा उनलाई एक्सन अवतारमा देख्न पाइनेछ ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा लेखन तथा निर्माण रेशम सापकोटाको रहनेछ । चलचित्रमा योगेशकाजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत, विदुर पाण्डेको छायांकन रहनेछ । अष्टमान महर्जनको एक्सन रहने चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

चलचित्रमा अभय बराल र कृष्ण जोशीको पनि अभिनय हेर्न सकिनेछ । यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविण चापागाँई, अन्विशा खड्की लगायतका कलाकारहरुले डेब्यू गर्दैछन् ।

पर्दामा राजेश हमाल र अनुपले दोस्रो पल्ट सँगै काम गर्न लागेका हुन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । राजेश हमाल र पल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्न लागेका हुन् । यसअघि उनीहरुले एक म्यूजिक भिडियोमा भने एकसाथ काम गरेका थिए ।

Leave a Reply