प्रदीप खड्काको ‘प्रकाश’ वैशाखमा प्रदर्शन हुने?

तिहारमा रिलिज भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले सिनेमा हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरु आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । गत सोमवार चलचित्र ‘चपली हाइट ३’ ले आउँदो पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गर्‍यो ।

यसैक्रममा अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ लाई पनि आउँदो बैशाख तेस्रो साता प्रदर्शन गर्ने तयारीमा निर्माण टिम जुटेको छ । आउँदो बैशाख १ गते (अफ्रिल १४) बाट प्रदर्शनमा आउन लागेको साउथको बहुप्रतिक्षीत चलचित्र ‘केजीएफ २’ लाई दुई हप्ता छाडेर ‘प्रकाश’ प्रदर्शन हुने प्रवल सम्भावना रहेको छ । आउँदो बैशाखको २३ वा ३० गतेभित्र चलचित्रलाई प्रदर्शन गर्ने गरी अहिले निर्माण टिमले वितरकसँँग छलफल गरिरहेको छ । नेपाल प्रदर्शनअघि चलचित्रलाई अन्तर्राष्ट्रिय महोत्सवहरुमा पठाइने जानकारी प्राप्त छ ।

दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा प्रदीप खड्काको साथमा रेनु योगीको मुख्य भूमिका रहेको छ । रेनुले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । चलचित्रमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

बिनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई महेन्द्र अधिकारीले लगानी गर्न लागेका हुन् । राजेश श्रेष्ठले छायाङ्कन गरेको चलचित्रलाई जीवन थापाले सम्पादन गरेका छन् । चलचित्रमा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको सङ्गीत रहेको छ। चलचित्रको छायाङ्कन जुम्लामा गरिएको हो ।

निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथामा चलचित्र आधारित छ । चलचित्रमा प्रदीपले पहिलो पटक गाउँले युवकको निर्वाह गरेका छन् ।

 

Leave a Reply