सुदर्शनको निर्देशनमा बन्ने ‘राजा’मा राजको मुख्य भूमिका

निर्देशक सुदर्शन थापाले नयाँ चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । उनले एक्सन जनरामा चलचित्र ‘राजा’ बनाउन लागेका छन् । तिहारको अवसर पारेर उनले शुक्रवार सामाजिक सञ्जालमार्फत् चलचित्रको थिम पोस्टर सार्वजनिक गरेका छन् । यस चलचित्रमा नायक राज कटुवाल मुख्य भूमिकामा देखिनेछन् ।

आउँदो माघको दोस्रो हप्ताबाट छायांकन सुरु हुने चलचित्रलाई परशुराम बस्नेतले निर्माण गर्नेछन् । उनी नेपाल खेलकुद माहासंघका बरिष्ठ उपाध्यक्ष, प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य तथा नेकपा एमालेका युवा नेता समेत हुन् । पहिलो पटक चलचित्र निर्माणमा हात हाल्न लागेका उनले ‘राजा’ को कथावस्तु मन परेकाले लगानी गर्न लागेको बताएका छन् । चलचित्रको कथा शिवम् अधिकारीले लेखिरहेका छन् ।

चलचित्रमा राजबाहेक अन्य कलाकार भने फाइनल भइसकेका छैनन् । राज र सुदर्शन पुराना र मिल्ने साथी हुन् । उनीहरुले केही वर्ष अगाडि एकसाथ रेस्टुरेन्ट समेत सञ्चालन गरेका थिए ।

लभ स्टोरी कथामा चलचित्र बनाउन माहिर मानिएका सुदर्शन अब भने बिल्कुलै फरक शैली अपनाउदै एक्सनप्रधान चलचित्र निर्देशनमा मोडिएका हुन् ।

चलचित्र ‘मेरो एउटा साथी छ’ बाट निर्देशकिय यात्रा सुरु गरेका उनले लभस्टोरीमा माइलस्टोन मानिने चलचित्र ‘प्रेमगीत’ को समेत निर्देशन गरेका छन् । साथै, थापाले ‘मेरो लभ स्टोरी’,‘मधुमास’,‘म यस्तो गीत गाउँछु’ जस्ता चलचित्र निर्देशन गरिसकेको छन् ।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको अभिनय रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा छ । कोरोना भाइरस (कोभिड-१९)को कारण ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन रोकिएको थियो ।

Leave a Reply