चलचित्र ‘म राजेश हमाल’को छायांकन सकियो

चलचित्र ‘म राजेश हमाल’को छायांकन सकिएको छ । सुपरस्टार राजेश हमालको नाम सापटी लिएर निर्माण भएको यो चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माणपक्षले बताएको छ ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रको सम्पूर्ण छायांकन धनगडीमा भएको हो । ‘राजेश हमाल सुपरस्टार मात्र होइन, भावना पनि हो’ भन्ने ट्यागलाइनमा केन्द्रित रहेको यो फिल्मलाई केदार भुसालले निर्माण गरेका हुन् ।

चलचित्रमा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सञ्जोग रसाइली लगायतको अभिनय रहेको छ । चलचित्रमा अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा छन् । निर्माता भुसालले यस चलचित्रमा राजेश हमाललाई पनि अभिनय गराउन निकै प्रयास गरेका थिए । तर, उनले चलचित्र ‘सत्यम्’ लाई समय दिइसकेकाले यो चलचित्रमा अभिनय गर्न भ्याएनन् ।

‘म राजेश हमाल’ राजेश हमालको जीवनीमा आधारित छैन । यस चलचित्रले उनको चलचित्र हेरेर प्रभावित भएका फ्यानहरुको कथा भन्नेछ । चलचित्रको टाइटलभन्दा कथावस्तु विल्कुलै फरक रहेको बताईएको छ ।

वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् । जोन योञ्जनकै कथा रहेको चलचित्रको स्क्रिनप्ले जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् । अलोक शुक्लाले खिचेको यो चलचित्रलाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् । सर्लाही रैनाथे जोन योञ्जनले यसअघि ‘बाह्र सत्ताइस’ को निर्देशन गरेका थिए ।

Leave a Reply