‘द भ्वाइस किड्स’ कात्तिक दोस्रो साताबाट प्रसारण हुने

‘द भ्वाइस अफ नेपाल’को अब किड्स संस्करण सुरु हुने भएको छ । हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेिख हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ ।

विश्वको चर्चित रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको हो।

शुक्रबार हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले शोका प्रायोजक कम्पनीका प्रतिनिधिसँग सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यो शोको टाइटल स्पोन्सर अमृत तेल रहेको छ । यस्तै, हाइजिन पार्टनरमा ‘लाइफबोय र डाबर रेड पेष्ट’, को स्पोन्सरमा लिटमस केबल्स र बत्सल्य न्याचुरल, फ्लोरिङ्ग पार्टनरमा जेन्सा कार्पेट र भोटिङ पार्टनरमा खल्ती आवद्ध छ । यस्तै, यसको मार्केटिङ पार्टनर एड प्याड मिडिया मार्केटिङ रहेको छ ।

‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् । डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् ।

‘द भ्वाइस किड्स’ लाई ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले नै निर्देशन गर्नेछन् । ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनसम्म सम्पन्न भइसकेको छ । कोरोना महामारिबिच सुरु भएको शो ‘द भ्वाइस अफ नेपाल ३’ निकै लोकप्रिय बनेको थियो । यसकारण शोका धेरै एपिसोडहरु युट्युबको ट्रेन्डिङमा समेत परेका थिए।

Leave a Reply