प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

चर्चित गायक तथा मोडल प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । सपुतलाई उक्त ब्रान्डले दुई वर्षको लागि नियुक्त गरेको हो । बुधबार एक कार्यक्रमबीच नयाँ म्युजिक भिडियो सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा कम्पनीले ब्रान्ड एम्बेसडरमा सपुतलाई नियुक्त गरेको हो ।

रोयल पेन्ट्सका अध्यक्ष परमेश्वर भण्डारी र चिफ फाइनान्स अफिसर चिरञ्जिवी पाण्डेले सपुतसँग ब्राण्ड एम्बेसडरका लागि हस्ताक्षर गरेका छन् । कलाकार सपुतलाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुसी लागेको अध्यक्ष भण्डारीले बताए । रोयल पेन्ट्सलाई थप परिचित गराउन सपुतको भूमिका महत्वपूर्ण हुनेमा उनले विश्वास व्यक्त गरे ।

सो अवसरमा बोल्दै कलाकार सपुतले छोटो समयमा प्रशिद्ध बनेको रोयल पेन्ट्ससँग आबद्ध हुन पाउँदा खुसी लागेको बताउँदै रोयल पेन्ट्सको लोकप्रियता आगामी दिनमा अझै बढ्नेमा आफू विश्वस्त रहेको बताए । ‘गुणस्तर चिन्ह प्राप्त एउटा स्थापित ब्राण्डसँग सहकार्य गर्न पाउँदा म उत्साहित छु,’ उनले भने, ‘यो दुई वर्ष हाम्रो सहकार्य रोयल पेन्ट्स जत्तिकै रंगिन र आत्मीय बनोस् ।’

प्रकाशले एम्बेसडरमा नियुक्त भएपछि खुशी साट्दै सामाजिक संजाल फेसबुकमा लेखेका छन् -‘२ वर्षका लागि रोयल पेन्ट्स संग ब्राण्ड एम्बासडरको रुपमा आवद्द भएको छु । जसरी मैले आफ्नो जिवन र आफ्ना सिर्जनाहरुमा विभिन्न रंगहरु मिसाउने प्रयास गरिरहेको छु त्यसरी नै १० वर्ष देखि रोयलपेन्टस ले घरका भित्ताहरु रंगाईरहको छ ।

गुणस्तर चिन्ह प्राप्त एउटा स्थापित ब्राण्डसंग सहकार्य गर्नका लागि म उत्साहित छु । यो दुई वर्ष हाम्रो सहकार्य रोयल पेन्टस जत्तिकै रंगिन र आत्मिय बनोस । विश्वास का लागि रोयल पेन्ट्स र शुभेच्छाका लागि तपाईहरुलाई धेरै धेरै धन्यबाद !’

एक दशकदेखि देशभर सञ्चालनमा आएको रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा यसअघि पूर्व मिस नेपाल श्रृंखला खतिवडा सम्बद्ध थिइन्।

Leave a Reply