अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी चलचित्र नै चाहियो ! :दीपक राज गिरी

कोरोनाका कारण लामो समय बन्द रहेका सिनेमा हललाई गत महिना काठमाडौंसहितका जिल्ला प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ चलचित्र नहुँदा हलहरु बन्दको बन्दै छन् ।

चलचित्र रिलिजका लागि निर्माता र प्रदर्शकबीच सहमत नहुँदा हल खुल्ने नै अनिश्चित बनेको थियो । तर, शनिवार बलिउड चलचित्र ‘सूर्यवंशी’ ले तिहारलाई रिलिज डेट तोकेपछि आइतवार चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गरेको थियो । तिहारमा ‘सूर्यवंशी’ रिलिज हुने भएपछि बलिउडमा जुन प्रकारको उत्साह छ, नेपालमा पनि उत्तिकै छ ।

चलचित्र रिलिजका लागि दशैं विदा सबैभन्दा राम्रो मानिन्छ । गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा पनि नयाँ चलचित्र चलाउन कुनै निर्माता सोचमा पुगेनन् ।
शोभित बस्नेतको ‘डाँडाको वर पीपल’ बाहेक अरु निर्माता दशैंमा चलचित्र रिलिज गर्न अघि सरेनन् ।

२ बर्ष अगाडिसम्म दशैंमा दीपकराज गिरी र उनको टिमले चलचित्र रिलिज गर्ने गरेका थिए । तर, यसपटक दीपकराजको टिमले चलचित्र छायांकन नै गरेको छैन । गतबर्षदेखि नै यो बर्षको दशैंमा चलचित्र रिलिज गर्ने सोेच बोकेर बसेका निर्माता समेत पछि परे । हल चलाउनका लागि प्रदर्शकले विदेशी चलचित्रकै सहारा लिनुपर्ने अवस्था आएको छ । ४ महिनादेखि बन्द हलमा पहिलो दिन नै हलिउड चलचित्र लाग्दैछ ।

हल चलाउनका लागि विदेशी चलचित्रको नै साहारा लिनुपरेपछि कलाकार तथा निर्माता दीपकराज गिरीले सामाजिक संजाल फेसबुकमा असन्तुष्टी पोख्दै लेखेका छन्–‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी चलचित्र नै चाहियो । कमसेकम दशैंमा रिलिज गर्ने मिति तोकेर तयार भएर बसेका साथीहरुले त आँट गर्नुपर्ने थियोे । सहज हुँदा एक आपमा भिड्ने । अप्ठ्यारो बेला… ।

मुम्बईमा हल खुलेपछि यसले नेपाली चलचित्र क्षेत्रलाई पनि राहत मिलेको छ । नेपालका वितरक र प्रदर्शक मुम्बईमा हल खुलेपछि ठूलो चलचित्र रिलिज हुने र यसले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने आशामा थिए । नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्र कुर्नुपर्ने र भरपर्नुपर्ने यो जति लाज लाग्दो कुरा अरु के होला र !

Leave a Reply