अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने

बलिउडको बहुप्रतिक्षित चलचित्रमध्य एक रहेको चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने भएको छ । नायक अक्षय कुमार र नायिका कट्रिना कैफको मुख्य भूमिका रहेको यस चलचित्रलाई रोहित सेट्टीले निर्देशन गरेका हुन् ।

मार्च २४ तारिखमा रिलिज हुन लागेको चलचित्रको कोरोनाका कारण बारम्बार प्रदर्शन मिति पोस्टपोंड भयो र अब झन्डै ८ महिनाको पर्खाइपछि दर्शकले हेर्न पाउने भएका छन् । छाँयाकनका बेला देखि नै ‘सूर्यवंशी’बारे निकै चर्चा हुँदै आएको छ ।

बलिउडमा ठूला चलचित्र रिलिज भएका छैनन् । यसैले, हलमा दर्शकको संख्या पनि न्यून छ । बीग बजेटका चलचित्र रिलिज नभएसम्म दर्शक हलसम्म नआउने आँकलन बलिउड पण्डितहरुको छ । हल बन्द हुँदा रिलिजको लागि तयार चलचित्रहरु लगालग ओटिटि प्लेटफर्ममा रिलिज हुँदैछन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका हुन् । चलचित्रको प्रदर्शन मिति पक्का भएसँगै नायक अक्षय कुमारले अब कुनै पनि ताकतले चलचित्रलाई नरोक्ने उल्लेख गरेका छन् ।

आतंकवादी आक्रमण र प्रहरीको कथा समेटिएको ‘सूर्यवंशी’मा रणवीर सिंह र अजय देवगन पनि देखिने छन् । चलचित्रको मुख्य भूमिकामा भने कैफ र कुमारसहित जेकी श्राफ, गुलशन ग्रोवर र सिकन्दर खेर देखिने छन् । चलचित्रको ट्रेलरले दर्शकहरुबाट राम्रो प्रतिक्रिया समेत पाएको थियो । ‘सिंघम’ र ‘सिम्बा’ जस्ता चलचित्रका निर्देशक रोहितको यो चलचित्र कस्तो होला भन्ने दर्शकमाझ उत्सुकता छ।

मुम्बईमा हल खुलेपछि यसले नेपाली चलचित्र क्षेत्रलाई पनि राहत मिलेको छ । नेपालका वितरक र प्रदर्शक मुम्बईमा हल खुलेपछि ठूलो चलचित्र रिलिज हुने र यसले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने आशामा थिए ।

‘वेलकम’, ‘नमस्ते लन्डन’, ‘सिंह इज किङ’ जस्ता हिट चलचित्रमा सँगै देखिएका अक्षय र कट्रिनाको केमेस्ट्री दर्शकले मन पराउँदै आएका छन्। धेरैजसो रोमान्टिक जोडी भएर चलचित्रमा अभिनय गरेका कट्रिना र अक्षयको वास्तविक जीवनमा पनि राम्रो मित्रता रहेको छ।

Leave a Reply