‘डाँडाको वरपीपल’ गीतमा शिव, भुवन र गौरीसँग सलोन र रुविना(भिडियो)

चलचित्र ‘डाँडाको वरपीपल’ को पहिलो गीत सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ‘काट्दिम्ला जुँगा जम्मै’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर रहेको छ ।

गीतको भिडियोमा अघिल्लो पुस्ताका तीन सुपरस्टार शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लले एकसाथ नृत्य गरेका छन् । ​भिडियोमा सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत लगायतको पनि नृत्य छ । उमंग लामा र केशव चौलागाईंको शब्द रचना, उमंग लामाको संगीत रहेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

निर्देशक शोभित बस्नेतद्वारा निर्देशित यस मल्टिस्टारर चलचित्रमा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ । नवराज गिरीको लगानी रहेको चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।

चित्लाङमा छायांकन भएको यो चलचित्रमा शिव श्रेष्ठ र भुवन केसीले १६ वर्षपछि एकसाथ चलचित्रमा काम गरेका हुन् । उनीहरुले पछिल्लो पटक २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट चलचित्र ‘राजु राजा राम’ मा सँगै काम गरेका थिए । त्यस्तै, शिव श्रेष्ठ र गौरी मल्लले ‘धर्मसंकट’ रिलिजको २० वर्षपछि एकसाथ काम गरेका हुन् । चलचित्रमा सलोनको जोडी रुविनासँग बाँधिएको छ । निर्माण टिमले चलचित्रको प्रदर्शन मिति असोज २६ गते (घटस्थापना) लाई घोषणा गरेको छ ।

सरकारले हल खोल्न अनुमति दिएपछि गत हप्ता ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । चलचित्र रिलिजका लागि दशैं विदा सबैभन्दा राम्रो मानिन्छन् । गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने नयाँ चलचित्र रिलिज हुने भएको छ ।

गीत हेर्नुहोस् :-

Leave a Reply