रजतपटमा मेरा विषयमा प्रस्तुत गरिएको रिर्पोट अतिरञ्जित र भ्रमपूर्ण छ : गरिमा शर्मा

विभिन्न कलाकारहरूको चरित्र हत्या गरेको आरोप लाग्दै आएको कार्यक्रम ‘रजतपट’ फेरि एकपटक विवादमा तानिएको छ । केही दिनअगाडि गायक दुर्गेश थापा र मोडल गरिमा शर्मा एकसाथ टिकटकमा लाइभ आएका थिए । भिडियोमा यी दुई प्रेमी प्रेमिका बनेर अनेकौँ कुरा गरी रहेका छन् । दुर्गशले गरिमासँग टिकटक लाइभमा एउटा खेल खेल्ने र त्यो खेलमा हार बेहोर गरिमाले सजाय पाउने बताउँछन् । खेलका लागि गरिमा पनि तयार हुन्छिन् । दुर्गेशले गरिमालाई आफ्नो पूर्वप्रेमीलाई रिसाएर गाली गर्नुपर्ने बताउँछन् । गरिमाले अभिनय गर्ने हो ? भनेर प्रतिप्रश्न गर्छिन् । उनले आफूसँग त्यसको अनुभव नभएको र रुनमात्र आउने बताउँछिन् । तर, दुर्गेशले कुनैपनि समयमा पूर्वप्रेमी भेटियो भने तिमी के गर्छाै भनेर प्रश्न गर्छन् । सुरुमा त गरिमाले नबोली मुन्टो फर्काउँदै आफ्नै बाटो लाग्ने बताउँछिन् । तर दुर्गेशले ‘तिमीलाई माया छ, बोल्न मन पनि छ, यो अवस्थामा के गर्छाै ? मलाई नै तिम्रो पूर्वप्रेमी सम्झिएर भन’ भनेपछि गरिमाले सहजताका लागि दुर्गेशलाई नै पूर्वप्रमी बनाउँछिन् र अभिनय गर्छिन् । अभिनयकै क्रममा उनीहरूबीच काल्पनिक रूपमा पूर्वप्रेमी-प्रेमिकाजस्तै भनाभन चल्छ ।

सोही भिडियोको टुक्रालाई मुख्य रिपोर्ट बनाउँदै कार्यक्रम रजटपटले हिजो बिहीबार टेलिभिजनमा प्रसारण गरेको थियो । उक्त प्रसारित कार्यक्रममा आफ्नो बारेमा आएपछि शर्माले उक्त समाचार बारे आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै गरिमा शर्माले रजतपटमा आफ्ना विषयमा प्रस्तुत गरिएको रिर्पोट अतिरञ्जित र भ्रमपूर्ण रहेको बताएकी छिन् । उनले सामाजिक संजाल फेसबुकमा असार २४ गते रजतपट कार्यक्रममार्फत आफ्ना विषयमा प्रस्तुत गरिएका सामाग्रीका बारेमा स्पष्ट पारेकी छिन् । फेसबुकमा लेख्दै उनले भनेकी छिन् , ‘केहि दिन अगाडी टीकटक लाइवमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत छ ।’ टीकटकमा बोलिएका संवादका विषयमा आफुले स—प्रमाण युट्युब मार्फत जानकारी गराएको समेत उनले उल्लेख गरेकी छिन् । उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसँग पनि आफ्नो टेलिफोन सम्पर्क भै सामान्य बिषय रहेको जानकारी गराइएको समेत उनले बताइन् । ‘हाँसो ठट्टा मात्र हो भनि सत्य तथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपुर्ण समाचार प्रसारित गर्नुले आफुप्रति गम्भिर अन्याय भएको महशुस गरेको छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै जानकारी गराउनु चाहन्छु ।’उनले नेपाली कला क्षत्र र कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरुलाई अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना गरेकी छिन् । यसखालको भ्रामक र बदनियतपुर्ण खवरलाइ विश्वास नगरिदिनुहुन आम दर्शक र शुभेच्छुकहरुमा उनको अपिल छ ।

Leave a Reply