आफ्नो जिन्दगी रहेसम्म समाजप्रतिको जिम्मेवारी नभुल्ने स्वेताको प्रण

कोरोनाले निम्त्याएको विभिन्न अभावहरुसंग लड्न र जीवन रक्षाका लागि नेपाली फिल्मकर्मीहरुले पनि सहयोगी हात अगाडि बढाइरहेका छन् । त्यस्तै कोरोनाको समयमा मात्र नभएर अरु समयमा पनि सदैव आफ्नो सहयोगी हात बढाउने अभिनेत्री हुन् , श्वेता खड्का । उनै श्वेताले आफ्नो जिन्दगी रहेसम्म उनी समाजप्रतिको जिम्मेवारी नभुल्ने आफ्नो प्रण रहेको बताएकी छन् । गत महिना अक्सिजन खरिद गर्नका लागि ५० हजार आर्थिक सहयोग गरेकी उनले भोका व्यक्तिहरुलाई निःशुल्क खाना वितरण गर्ने अभियानमा पनि आर्थिक सहयोग गरेकी छन् । शनिवार निःशुल्क खाना वितरण गर्न उनले सामाजिक कार्यमा सक्रिय संस्था हाम्रो टिम नेपाललाई ३० हजार नगद सहयोग गरेकी हुन् ।

उनले शनिवार फेसबुकमा लेखेकी छन्, ‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हाँस्नु पर्छ, मन नलागि नलागि रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नु पर्छ । त्यो सिनेमाको एउटा पाटो हो । तर सामाजिक कामको जिम्मेवारी अर्कै छ । जहाँ अभिनयभन्दा पनि वास्तविक जीवनको भोगाईमा समाहित भइन्छ । म, मेरो सामाजिक क्षेत्रलाई मनले जोडेर राख्न चाहन्छु , अभिनयले होईन । मेरो क्षमता, गक्षता र शिपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मन बाटनै सामाजिक सेवाको क्षेत्रमा होम्मिने छु ।’

Leave a Reply