नेपाली चलचित्र ‘गुराँस’ले जित्यो नेदरल्यान्डको १४ लाखको स्क्रिप्ट फन्ड

सौरभ राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने चलचित्रले १० हजार युरो (नेपाली १४ लाख रुपैयाँ) हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो । यो रकमले स्क्रिप्ट लेखनको काम सक्ने निर्देशक राईले बताए । स्थिति सामान्य भए अर्को वर्षबाट छायांकनमा निस्कने तयारीमा निर्माण टिम छ । नेपालमा यो चलचित्रलाई आइसफल प्रोडक्शनका प्रमुख रामकृष्ण पोखरेलले निर्माण गर्न लागेका हुन् । हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तान लगायत १० देशका चलचित्रलाई फन्ड उपलब्ध गराएको हो ।

पोखरेलका अनुसार कालिम्पोङ मुल थलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर चलचित्र हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो । विश्वका थुप्रै फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मको वल्र्ड प्रिमियर भने नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोट्रेड्याममा भएको थियो । त्यो भन्दा अगाडि पनि उनले बनाएकोसर्ट फिल्म ‘गुँड’ क्यान्सको सिने फाउन्डेसनमा छनोट भएको थियो । निर्माता पोखरेलले चलचित्रको काम २ बर्षदेखि भएको भन्दै अब यसले फन्ड जितेपछि चलचित्र निर्माणको कामले गती लिने उल्लेख गरेका छन् । उनले अर्को बर्षदेखि चलचित्रको छायांकन सुरु गर्ने योजना रहेको बताएका छन् । चलचित्रमा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहनेछ । यो बाहेक संजय गुलाटी पनि यो चलचित्रको निर्माणमा साझेदार रहनेछन् । आइसफलले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ । सुजित बिडारीको निर्देशन रहेको यो चलचित्र दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो ।

Leave a Reply