सुस्केराको ‘सेरोगेट लोग्ने’ पुस्तक विमोचन

असोज १७, काठमाडौँ । शनिबार असोज १६ गते काठमाडौँको भृकुटीमण्डपमा असोज ८ गते देखि चलिरहेको पुस्तक मेलामा कथाकार शम्भू सुस्केराको कथा संग्रह ‘सेरोगेट लोग्ने’को बिमोचन गरिएको छ । गीतकार डा. नवराज लम्साल, निवन्धकार युवराज नयाँघरे र अपराध महाशाखाका प्रमुख एस.एस.पी सर्बेन्द्र खनालले उक्त पुस्तकको संयुक्त रुपमा बिमोचन गर्नु भएको हो । सुस्केराको उक्त संग्रहमा मानवेतर सहित १८ वटा कथाहरु संग्रहति छन् । उक्त पुस्तकलाई ट्रिनिटी प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।
कार्यक्रममा उक्त कृतिमाथि विवश अतृप्त यात्रीले पुस्तकको समिक्षा गर्दै पुस्तकले आमाको काख भाडामा लिने र दिने आधुनिक बिसंगत समाजको कथा देखि विपी कोइरालाका यौन मनोविज्ञानसँग मेल खाने कुरा समेटेको बताए । त्यस्तैगरी कृति सार्वजनिक गर्दै एसएसपी सर्बेन्द्र खनालले लेखक सुस्केराले प्रहरी पेशागत धर्मलाई जोगाउँदै सुडानमा द्धन्द्धबाट उत्पन्न अवस्था र एउटा श्रीमानको चारवटी श्रीमती भएर जीवन बाँच्नु पर्दाको यौन कुण्ठाको यथार्थ वर्णन गर्नुका साथै नेपालमा यौन पेसामा होमिन बाध्य नारीका कथा समेत उनेर देश विदेशका यौन विसंगत बोल्न सकेको कुरा बताए ।
कार्यक्रममानै डा. नबराज लम्सालले असल लेखकले मलमल कपडाले जसरी छोपेर पाठकलाई बुझ्नलाई इस्पेस दिन्छन् । सुस्केराको कथाले त्यही भान गराउँछ, न उदाङगो छ न पहाडले थिचिएको छ । वर्णन र विवरण भन्दा माथि उठेर लेखेकाले सुस्केरा कथा लेखनमा सफल रहेको कुरा बताए । त्यस्तै निबन्धकार युवराज नयाँघरेले विभिन्न पेसाकर्मीहरुको फरक अनुभवले नेपाली साहित्यको उचाइ थप्ने बताए ।
कथाकार शम्भु सुस्केराले ‘सरोगेट लोग्ने’ नेपाली समाजकै कथा भएको जनाएका छन् । साथै पेसागत धर्म र मर्यादाका कारण बोल्न नमिल्ने कुरा बोल्न आफ्ना कथाका पात्रहरुले बाध्य पारेको, आफ्ना मनका कुण्ठा र असन्तुष्टीहरु र सामाजिके बिसंगती बाहिर ल्याउन सकेको बताए ।

Leave a Reply