राम्रा नेपाली सिनेमाका बारेमा सुनेर वा अनुमान गरेर हलसम्म पुग्ने दर्शक मध्येमा म पनि पर्छु भन्ने लाग्छ । दसैँ र तिहारको दुईवटा छोटो विदाको अवसरमा तीन चारवटासम्म सिनेमा हेर्ने प्रयास गर्छु । त्यसमध्ये आधाजसोले मात्र मन छुन्छ । आधासँग मुस्किलले आँखामात्र जुध्छ मन जुध्दैन ।
यसवर्ष दसैँको अष्टमीको साँझ साइत जु¥यो छक्कापन्जा ३ सँग भेट गर्ने । भेट आत्मिय नै बन्यो । र मनमा हुटहुटी जाग्यो आफ्नो दर्शकीय दृष्टिकोण पस्किने । त्यही औडाहा पोख्ने जमर्को हो यो । दर्शकीय दृष्टिकोणमा समिक्षात्मक स्वरुप र सिद्दान्तको पाठ पढिएको छैन ।
हुन त कला, संगीत साहित्य र सिनेमाको सिद्दान्त, तत्व र स्वरुप निर्माणमा लक्षित वर्गको मतलाई बेवास्ता गरिएको होला भन्ने लाग्दैन ।
तसर्थ वर्तमान नेपाली समाजले झेलेको बिकृतिको ज्ञान, बिनाको कथा संस्कृति निर्माणको दृष्टिकोण बिनाको निर्माण असफल भएका छन् । दर्शकलाई के दिने, कसरी दिने, किन दिने, तत तत विषयमा निराशा वा वियोग मात्र दिनेकि उर्जा र प्रेरणा प्रदान गर्ने । बिकृत विषयलाई संस्कृतिउन्मुख कसरी बनाउने भन्ने सामान्य विश्लेण नगरी सिनेमा निर्माण गर्नु समाजलाई धोखा दिनु हो ।
सिनेमाले सिनेमा हुनुभन्दा पहिले साहित्य हुने अवसरप्राप्त गर्छ अनि मात्र सिनेमाको बाटो तय गर्छ । तसर्थ समाजलाई कस्तो आदर्श र दर्शन अर्पण गर्ने यसतर्फ अब पनि नेपाली सिनेमा अग्रसर नहुने हो भने केबल अरुलाई गाली गरेर सिने उद्योग मौलाउने छैन । चेतनाभया ।
मान्छेमाथि मान्छे चढेर हातमात्र छिर्ने सानो दुलोमा हात छिराएर टिकट काट्थ्यौँ । एकातिर हातमा चोट अर्कोतिर आमाले दिएको पैसाको नास । यसैगरि विर्तामोडका विभिन्न हलमा ३ रुपैयाको टिकट काटेर सुरु गरियो होला फिल्म हेर्न, त्यो पनि हिन्दी ।
आजकाल हलमै पुगेर हिन्दी सिनेमा त हेरिन्न । तर सम्भव भएसम्म आमा श्रीमती र छोरो सहितै नेपाली फिल्म हेर्न जाने गरेको छु । यसैगरी कम्तिमा तीन पुस्ताको बिचारको संयोजन र आमा, श्रीमती र सन्तानसँगै बसेर हेर्न सकिने श्लिलतापूर्ण सिनेमा पनि हुनुपर्छ भन्ने हेक्का सिनेमा बनाउँदा ध्यान दिइयोस् ।
उसबेला तुलसी घिमिरेको सिनेमा ‘दक्षिणा’ हेर्दा अलेली सिनेमा बुझ्ने भइसकेको रहेछु भन्ने लाग्छ । त्यसैले होला घिमिरेप्रति छुट्टै श्रद्धा छ आजपनि । बहुदलीय राजनीति बामे सर्दै गरेका बेला होला दक्षिणा रिलिज भएको । मुख्यगरि उसबेलाको कलेज राजनीतिक बिकृति उठाएको थियो फिल्मले ।
फिल्मका कथा, गीत र संवादहरु अग्रगामी बिचारबाट प्रेरित थिए भन्ने लाग्छ । बिचार र सन्देश प्रधान सिनेमा बनाएकैले पनि उनका सिनेमा र घिमिरे दुवैको स्थान उच्च छ आज पनि । दक्षिणा बनेकाबेला अरु पनि धेरै सिनेमा बने होला तर सबैको सम्झना छैन । हेरिएन सायद ।
कुरा आजको सिनेमाको त्यसमा पनि छक्कापंजाको गरौँ । छक्का पंजाको नामको संस्करण सुरु भएपछि दोस्रो संस्करणमा आइपुग्दा केही आरोप र आलोचना पनि भए । दिपक—दिपाले ‘फिमेल डोमिनेटेड’ फिल्म बनाउँछन् भन्ने आरोप लाग्यो । र यो असत्य पनि थिएन ।
तेस्रो संस्करणमा आइपुग्दा भने त्यो आरोपबाट मुक्त देखिएका छन् । कथाकार, निर्देशक र निर्माता समाज र दर्शकप्रति अझै जिम्मेवार बनेको जस्तो लाग्छ । सिनेमाको विषय उठान, त्यसले दिने सन्देश, मनोरंजन आदिको तालमेलमा सन्तुलन देखिएको छ ।
कुनै पनि मिशन त्रुटी रहित हुँदैन । यसमा पनि त्रुटी नदोहोरिएका होइनन् । आंचलिक भाषाको लवज एकैपरिवारमा फरक हुनु, चित्रित समाज एकातिरको लवज र संस्कार अर्कैतिरको जस्ता त्रुटीहरु देखिन्छन् । अघिल्लो सिनेमामा देखिएको त्रुटीलाई सच्याउँदै कम्तिमा आमाछोरा पात्रको लवजमा एकरुपता ल्याउन खोजिएको छ । तथापी यी र यस्ता साना कुराहरु सुधार्न अझै बाँकी छ ।
कथामा निरन्तर सृङखला नभएपछि पात्र र चरित्रमा निरन्तरता दिएर डोटेली राजा नै प्रिय लाग्नु र अन्य चरित्र वा समाजको कथा खोज्न नसक्नुलाई पनि त्रुटी वा एकै चरित्रको मोह किन ? भन्ने प्रश्न यथावत छ, त्यो स्वाभाविक हो ।
यति भएर पनि सिनेमामा उठाएको विषयको समसामयिकता र गंभिरताले यी र यस्ता त्रुटीलाई छोपेको छ । अबको सिनेमा यस्तै सामाजिक र परिवर्तन उन्मुख बन्नुपर्छ भन्ने प्रेरणा पनि प्रदान गरेको छ यसले ।
यस्तो पो चल्नेरहेछ भन्ने लागेपछि सबैले त्यस्तै गर्ने बानी छ हाम्रो । नयाँ खोज्ने र सिक्ने तिर लाग्दैनौँ । यसले नोक्सान फिल्म कर्मीलाई नै हुने हो दर्शकलाई होइन । यस्तै खालका कथामा फिल्म बनाउने निरन्तरता कसैले नगरुन् ।
सिनेमा, साहित्य वा संगीतले समाजमा के र कति योगदान गर्छ ? मानव जीवनलाई पथ प्रदर्शन गर्छ कि गर्दैन । यी विषयमा अनुसन्धान हुनुपर्छ होला अब । तुलसी घिमिरेले बनाएको दक्षिणा वा यस्ता सिनेमाले कति दर्शकलाई प्रेरित ग¥यो, ककसले आफुमा रहेको बिकृति सच्याए । यस्ता विषय पनि अबको सिनेमाको विषय बन्न सक्छ ।
छक्कापंजा ३ ले उठाएको विषयबाट कति प्रभाव पार्छ हाम्रो समाज र राजनीतिलाई । यसरी अध्ययन गरेर मात्र सिनेमाको विषय छनौट गरी निर्माण गर्न सके मात्र सिनेमाले समाजलाई दिने योगदानको मूल्य बढ्न सक्छ । यो अनुमान हो । सम्भावना हुनसक्छ ।
छक्का पंजा ३ ले सामुदायिक विद्यालयमा रहेको बिकराल बिकृतिमात्र उठाएन समाधान पनि देखाइदियो । स्कुलभित्र हुने दल, शिक्षक र समाजको बिकृत राजनीति खेल र यसले बनाएको विद्यार्थीको अँध्यारो भविष्यलाई उजागर त ग¥यो नै सिनेमालाई संयोगान्त र आशावादी बनाउँदै स्कुलभित्रको बिकृतिलाई संस्कृतिउन्मुख बनाई दर्शकको आत्मबल बढाएको छ । र, आशावादी हुन प्रेरित गरेको छ ।
तसर्थ राजनीतिक दलका सबै नेता कार्यकर्ता, सामुदायिक, अंग्रेजी स्कुल संचालक, शिक्षक र अविभावक, सबैले हेर्नैपर्ने सिनेमा बनेको छ यो ।
नेपालमा हेर्न लायक नेपालीपन बोकेका सिनेमा बन्न थालेको धेरै भयो । भारतीय कथाका केही अंश हिरो, हिरोनी, गुण्डा, फाइट, प्रेम, अन्तमा हिरोको जीत भिलेनको हार यत्ति अवयव जोडेर तीन घण्टा हलमा देखाउने काम हुन्थे एकताका । पछिल्लो समय त्यसभन्दा माथि उठेर नेपाली समाजका कथा नेपाली पाराले प्राकृतिक अभिनयबाट प्रस्तुत हुन थालेका छन् । यो सुखद हो ।
‘जात्रा’ र ‘पसुपति प्रसाद’ र अरु केही उत्कृष्ट सिनेमा बनिसकेका छन् । यस्तै सिनेमाको कारण नेपाली सिने उद्दोग जाग्दो, जल्दो र आश लाग्दो बनेको हो ।
संघर्षबाट केबल असफलता हात लाग्छ भन्ने सन्देशले दर्शकलाई केबल निराशा दियो हलबाट निस्कँदा । लाखौँ युवा विदेसिएको बिकराल अवस्थामा कुनै पनि हालतमा संघर्षले सफलता होइन मृत्यु दिन्छ भन्ने संदेश दिनु गैह् जिम्मेवारी नै हो ।
काठमाडौँको मुटुमा एउटा औँठी चोरेकै आरोपमा एउटा मान्छे त्यसरी हुलको बिचमा कुटाइखाएर मर्ने अवस्था रहँदैन । एकातिर यो अपत्यारिलो छ भने अर्कातिर आफ्नै छोराबाट अपहेलित आमाले पसुपतिप्रसादलाई सम्पतिसहित प्रेम हस्तान्तरण गर्न नपाउनु । ‘व्यापारमा अपार’ भन्ने सिनेमाले ठेलागाडा किनेर खाजाको व्यापार गर्ने पसुपति प्रसाददको सपना पुरा हुन नपाई मारिदियो र उसको निश्चल प्रेम सफल हुन पाएन, आदी सबै निराशको पहाड बाहेक केही होइन ।
यसले दर्शकलाई कुनै उर्जा दिएन, निराशा र आँसु बाहेक । समृद्ध नेपालको निर्माणका लागि कला साहित्य, संगीत र सिनेमाले निराशा र आँसु कम उर्जा बढी दिनै पर्दछ । अझ भनौँ सिनेमाले हाँसो, उर्जा र आशा बाँड्नु पर्छ । निराशा र मृत्यु होइन । संघर्षले दिने सफलता नै हो । यसलाई छल गर्नु हुँदैन । संघर्षशील दर्शकलाई अझै निराशा होइन सफलता नै पस्किनुपर्छ ।
छक्कापंजा ३ ले समस्या मात्र उठाएर छोडेन समाधानतिर डो¥यायो र प्रेरित ग¥यो बिकृतबाजहरुलाई संस्कृति निर्माणका नायक बन्न ।
हामीलाई थाहा छ । स्कुल त एउटा प्रतिनिधी विषयमात्र हो । यस्ता कैयन बिकृतिहरु सर्वत्र छन् । कर्मचारी तन्त्र, राजनीति, प्रहरी, सेना, यातायात क्षेत्रका तमाम विषय उठुन् । र यस्तै स्तरीयता बोकेर बनुन् नेपाली सिनेमा । र पो प्रतिष्पर्धी बन्छ अरु सिनेमासँग र पाउँछ विश्वमा बजार ।
समाज र सामाजिक विषयमा अध्ययन नगर्ने, कथा लेखनमा व्यावसायिकता नखोज्ने, सिनेमा निर्माणका तमाम कुरामा अध्ययन नगर्ने केबल दुईचारजना पत्रकार भेला गरेर हात जोड्ने ।
‘हामीले सिनेमा बनाएका छौँ एकपटक हेरिदिनुस् । ’
नेपाली मान्छेले नेपाली भाषा बोलेर अभिनय जस्तो गर्दैमा सिनेमा हुँदैन भन्ने हेक्का हुनुपर्छ निर्देशक, निर्माता र कलाकार सबैलाई । नेपाली समाज, कला, संस्कृति, आफ्नोपन र नेपाली परिवेश सहितको कथामा कलात्मकता थपेर सिनेमा बनाए कसले मन नपराउला ।
विभिन्न समाजका संस्कार, चाड, तिनको रितिरिवाज आदिका बारेमा नबुझ्ने हिन्दी सिनेमा हेरेका भरमा नेपाली छोरीलाई बाउको खुट्टो ढोगाउने ! अनि भन्ने नेपाली फिल्म ?
नेपाली फिल्म हेर्ने जुनसुकै देसको नागरिकले नेपालबारेको तथ्य थाहा पाउन सकोस्, भ्रम नछरोस्, त्यो हो नेपाली सिनेमा ।
छक्कापंजा ३ को योगदान अविस्मरणीय छ । पे्ररित गर्नैपर्छ सबैले । तर, विषय, पात्र र चरित्रमा अझै गहिरो अध्ययनको खाँचो छ । अर्को पटक र अन्य सिनेमाले सुधारुन् । शुभकामना, साधुवाद र बधाई एकसाथ, एक दर्शकको ।
शम्भु सुस्केरा
suskera32@gmail.com