‘मुखमा राम राम बगलीमा छुरा’, होइन त रबि ज्यू?

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला विश्व नै लक डाउनमा छ । नेपालमा पनि जेष्ठ ५ गते सम्मको लागि लकडाउन घोषणा गरिएको छ र अत्यावश्यक कामको लागि मात्र निस्किन पाउने गरी सरकारले पासको व्यवस्था गरेको छ ।तर सामाजिक संजालमा पोष्ट भएको एक भिडियोले देशका चर्चित फिल्मकर्मीहरु तथा संचारकर्मी रबि लामिछानेले सरकारको आदेशलाई गम्भीर ढंगले नलिएको देखाएको छ । भिडियोमा लकडाउनकाबिच एकै ठाउँ भेला भएर उनी लगायतका कलाकारहरु पार्टी गर्दै गरेको देखिनछ । उक्त पार्टीमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु दिपक राज गिरि, दिपाश्री निरौला, पुजा शर्मा, किरण केसी लगायतको उपस्थिति रहेको थियो । उनीहरु लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका थिए ।

केहि समय अघि आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत रवि लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोल हालेर खाउँ तर बाहिर नजाउँ’ भन्दै जोशिलो तरिकाले संदेश दिएका थिए । उनले ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ भनेका थिए । उनले यस्तो भनेको भिडियो क्लिप सामाजिक संजालमा खुबै भाइरल भएको थियो भने टिकटक प्रयोगकर्ताहरूले पनि यसमा सयौंको संख्यामा टिकटक भिडियो बनाएका थिए । तर अहिलेको रविसमेत सहभागी भएको सो भिडियोले संचारकर्मी र अभियानकर्मीका रुपमा परिचित लामिछानेजस्ता व्यक्तिमाथि नैतिक प्रश्न खडा गरेको छ ।

Leave a Reply