केकी अधिकारी चलचित्र ‘बोक्सीको घर’ निर्माण गर्दै

अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने पक्का भएको छ । यस अघि चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी केकीले, वि.सं २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई चलचित्रमा उतार्ने तयारी गरेकी हुन् । यो नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन् । सरिता गिरीले नाटकमा एकल अभिनय गरेकी थिइन् । सुलक्षण भारतीको लेखनमा निर्माण हुन लागेको ‘बोक्सीको घर’ नामक चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षणले संयुक्त रुपमा निर्देशन गर्ने तयारी गरेका छन् ।

केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने चलचित्रमा नायक गौरव पहारी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ । चलचित्रका बाँकी कलाकारको छनोट अडिसनबाट गरिनेछ । विगत डेढ महिनादेखि कलाकारहरुले वर्कशप गरिरहेका छन् । चार महिनासम्म वर्कशप गरेपछि छायांकन प्रारम्भ गरिने बताइएको छ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रलाई बद्री अधिकारीले निर्माण गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता विशाल भण्डारी हुन् । यथार्थपरक चलचित्रको रूपमा निर्माण हुन गइरहेको चलचित्र बोक्सीको घरमा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहने बताइएको छ।

Leave a Reply