अंकित पौडेलको ‘सङ अफ दि क्लाउड’लाई इटलीमा पुरस्कार

अंकित पौडेलको निर्देशनमा तयार भएको ‘सङ अफ दि क्लाउड’ नामक चलचित्र इटालीको एक फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ । मृत्युपछिको जीवनलाई कल्पना गरि तयार पारिएको यस चलचित्र एसोलो आर्ट फिल्म फेस्टिभलमा आर्ट फिल्म सेक्सनतर्फ विजेता बनेको हो । विजेता बनेको चलचित्रलाई ५ सय यूरो पुरस्कार प्रदान गरिएको छ । अंकित निर्देशित चलचित्र जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । त्यसयता यो चलचित्र अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट आदि फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ । फिल्मले वल्र्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितिसकेको छ ।

अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका अंकितले हाल भने अमेरिकाको विस्कन्सिन मिल्वाउकी युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरेका अंकितले फिल्म थप केही फेस्टिभलमा पनि छनोट भएको तर त्यसको घोषणा हुन बाँकी रहेको जानकारी दिएका छन् । छायांकारको रुपमा २० भन्दा बढी प्रोजेक्टमा काम गरेका अंकितको ‘सङ अफ दि क्लाउड’ डेब्यु फिल्म हो ।

Leave a Reply