हिजोको चलचित्र प्रविधी नटबल्टु कस्ने थियो तर अहिले औला घुमाए पुग्छ:- निर्देशक आकाश अधिकारी

दर्शकहरुले कोहिनूरनै हेर्न हलसम्म किन जाने ?

धेरै दिन देखि साच्चै भन्ने हो भने दर्शकले राम्रो चलचित्र हेर्न पाउनु भएको छैन । उहाँहरु नेपाली चलचित्र हेर्न भनेर हलमा जानु हुन्छ तर बिशुद्ध नेपाली चलचित्र भने हेर्न पाईरहनु भएको छैन ।  ‘कोहिनूर’ एक बिसुद्ध राम्रो प्याकेज भएको चलचित्र हो । जसमा मनोरंजन, थ्रिलर, सस्पेन्स र रोमाञ्च छ । देश र समाजको परिस्थितिलाई लिएर तयार गरिएको चलचित्र मात्र नेपाली चलचित्र मान्न सकिन्छ । त्यसैले ‘कोहिनूर’ भित्र देशको माटो सुहाउदो कथा छ । त्यसैले पनि दर्शकले यो चलचित्रलाई छुटाउनु हुन्न भन्ने लाग्छ । 

कोहिनूरदर्शकले मन पराउने र यसले लगानी उठाउने कुरामा विश्वस्त हुने आधार के के हुन् ?

चलचित्र भनेको टिम वर्क हो । नेपाली चलचित्र क्षेत्रमा २५-२६ वर्ष देखि काम गर्ने श्रीकृष्ण जी र म १५-१६ वर्ष देखि काम गरि रहेको आकाश अधिकारीको अनुभव यस चलचित्रमा छ । म कसैसंग आफुलाई तुलना र प्रतिस्पर्धा गर्दिन । गरे नै पनि म आफैले आफैसंग गर्छु । यस भन्दा अघि पनि राम्रा र हिट चलचित्रहरु दर्शकलाई दिईसकेकोछु । अरुले निर्देशन गरेको चलचित्रहरुसंग मात्र हैन, आफ्नैसंग पनि मिल्दोजुल्दो नहोस भने काम गर्छु । म जहिले पनि प्रस्तुतिमा ध्यान दिछु । नयाँ चाहन्छु । त्यसैले गर्दा साउन २२ गतेसम्म ‘कोहिनूर’ मेरो हातमा छ र २३ गते पछाडी यो दर्शकको माझमा जान्छ । त्यसपछि चलचित्रले पैसा उठाउने नउठाउने, ब्यापार गर्ने नगर्ने दर्शक कै हातमा छ । यति नै उठाउछ भनेर म भन्न सक्दिन । २२ गतेसम्म मैले गर्नु पर्ने पब्लिसिटी लगायतका काम हाम्रो टिमले सक्दो गरिरहेको हुन्छु । त्यो भनेको सोहि दिनसम्म हाम्रो हातमा छ । त्यसपछि दर्शकको हातमा छ । 

श्रीकृष्ण श्रेष्ठ तत्काल नेपाल फर्कने सम्भावना कतिको छ ?

श्री जी अहिले भारतमा उपचार गराई रहनु भएकोछ । तर पनि उहाँको मन नेपालमा नै छ । आज मात्र उहाँले मलाइ फोन गरेर भन्नु भयो ‘सर ! आज सपनामा तपाइँसंग चलचित्रको कुरा भएको देखेको थिए । त्यसैले कल गरेको’ भनेर । श्री जीले निर्माण गर्नु भएको भए पनि यो परिस्थितिमा उहाँले चलचित्रको जिम्मा मलाइ दिनु भएको छ । निर्देशक भनेको चलचित्रको क्याप्टेन पनि हो । त्यसैले यसलाई गति दिनु मेरो कर्तब्य हो । त्यसैले हाम्रो टिमले सक्दो कोसिस गर्ने बिस्वस्त दिलाएको छु । डाक्टरले अनुमति दिएमा बिहीबारको चेकप चेकअप  पछि उहाँको नेपाल आउने सम्भावना छ। 

श्रीकृष्ण र श्वेताको अनुपस्थितिमा चलचित्रले सोचे जति सफलता पाउला ?

श्रीकृष्ण र श्वेताले दर्शक समातेर तान्दै ल्याउने हैन । श्री जीका आफ्नै प्रकारका दर्शक छन्, श्वेताका आफ्नै अनि आकाश अधिकारीको आफ्नै छन् । अनि ‘कोहिनूर’को आफ्नै । कहिले ‘कोहिनूर’ आउला भनेर दर्शकले कुरेर बसेको अवस्था छ । श्री जी अहिले यहाँ भए पनि उहाँ मिडियामा आउने मात्र हो । किन भने स्वास्थ्य स्थितिका कारण हलहरुमा जाने अवस्था छैन । केहि दिनमा उहाँ मिडिया मार्फत चै आउनुहुन्छ । उहाँ नभए पनि श्री जीका दर्शकले यो चलचित्र छुटाउनु हुन्न । 

साच्चिनै कोहिनूरचलचित्रले दिन चाहेको सन्देश चै के हो ?

चलचित्र मेकर्सले संदेश उठाएर दिने हैन । मनोरंजन दिने हो । साथै म एक निर्देशकको दायित्व भनेको मेरो पनि सामाज छ । त्यो समाज प्रति उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने हो । त्यसैले मनोरंजनसंगै संदेश पनि दिने हो । यसमा नेपाल भित्रका देखिएका, भोगिएको कथा छ । देशमा भएको रोजगारीको अभाव, जसले गर्दा बैदेशिक रोजगारीमा विदेशिने युवाहरुको संख्या बढ्दो, त्यसमा पनि महिलाहरु पुरुष सरह सक्षम हुँदाहुँदै पनि बैदेशिक रोजगारमा जाँदा आइपर्ने समस्या र त्यो समस्यासंग जुधी रहदा उनीहरुले बाध्यतामा परेर गर्नु पर्ने क्रियाकलाप र त्यो दलदलबाट निस्कनकालागि भोग्नु पर्ने कठिनाई र फर्किएर आफ्नो देशमा आएपछि पनि यहि समाजसंग गर्नु पर्ने संघर्ष यस चलचित्रमा छ । जसले नागरिक, समाज र सरकारलाई सचेत बन्न संदेश दिएको छ । 

चलचित्रमा  सन्देश सहित ग्ल्यामर्स र मनोरञ्जनलाई फ्युजन गराउन कतिको सजिलो छ ?

पक्कै पनि त्यसैले त स्क्रिप्ट तयार गर्न नै एक डेड बर्ष लाग्छ । कुन दृश्यले कस्तो असर गर्छ भन्ने कुराको लागि हामीले लामो गृहकार्य गरेका हुन्छौ । त्यसैले यी सन्देश, ग्ल्यामर्स र मनोरञ्जनलाई मिलाउने कुरामा हामी एकदमै सचेत भएर लागेका छौ । 

नेपाली चलचित्रको गर्विलो र स्थापित निर्देशक आकाश अधिकारीलाई कोहिनूरको व्यावसायिकतालाई लिएर कतिको डर लागिरहेको छ ?

डर मलाइ लागेको छैन । राम्रो सामाग्री बनाएर दर्शकलाई राम्रो छ है भनेर दिए पछि उहाँहरु आउने नआउने  उहाँहरुमा भर पर्छ । हामीले त बनाएर, राम्रो छ भन्ने कुरा आम मिडिया मार्फत भन्दै आएका छौ । हेरौ दर्शकले के गर्नु हुन्छ । 

अघिल्लो र पछिल्लोपुस्ताका बीचमा रहेर तपाईंलाई प्रतिस्पर्धामा उत्रिन कतिको सहज छ ?

न मलाई पुस्ता हुन्छ जस्तो लाग्छ, न त चलचित्रको अर्को धार नै हुन्छ । मलाई केहि पनि लाग्दैन । नेपाल र भारतमा चलचित्र बन्ने भनेको रामायण र महाभारतको कथामा हो । अरु कुनै कथा नै छैन । १०-१० वर्षमा कालखण्ड परिवर्तन हुन्छ, सोच परिवर्तन हुन्छ, व्यवहार परिवर्तन हुन्छ र बोलि, लवजमा फरक पर्छ । मतलव यो एउटा समयको परिवर्तन हो । परिवर्तनसंगै आफु हिडन सक्यो भने न पुरानो होइन्छ न त नयाँ । म सधै बिद्ध्यार्थी हुँ । समयसंगै हिड्छु । म हलिउड र बलिउडले के बनायो भनेर चियोचर्चो गर्दिन । नेपाली समाज कुन धारमा अगाडी गईरहेको छ भन्ने हेर्छु । 

भारतमा निर्देशन र अभिनय पढेर फर्किदा त्यसबेलाको आकास अधिकारीले नेपालको चलचित्र बजारमा सम्भावनाहरु कत्तिको देखेको थियो र आज सोहि अनुसार पाएको छ कि छैन ?  

जे सोचेर आएको थिए त्यो चै पाएको छैन । शैद्धान्तिक रुपमा जे सोचेर आइन्छ यथार्थमा त्यो हुदैन । त्यो स्वाभाविक पनि हो । मैले सोचे जस्तो भएन भन्दा पनि परिस्थिति अनुरुप काम गर्नु पर्छ । आफुलाई तुरुन्त परिवर्तन गर्नु पर्छ । तर अहिलेको नयाँ भाइबहिनि प्रति म धेरै आशाबादी छु । किन भने यस बिषयमा उहाँहरुले धेरै अध्ययन गर्नु भएको छ ।

वर्तमान अवस्थामा नेपाली चलचित्रको अवस्था कस्तो छ र यसको भविष्य कस्तो देखि रहनु भएको छ ?

चलचित्रले आफ्नो ठाउँमा राम्रो काम गर्दै आएको छ । लामो समयदेखि मेरो चाहना थियो कि प्रविधिमा परिवर्तन गरौँ । एउटा मानिसले तिन वटा दृष्टिकोणबाट चलचित्र हेर्छ । आखाको माध्यमबाट दृश्य हेर्छ । कानको माध्यमबाट आवाज सुन्छ । ती दुई इन्द्रियको मार्फत दिमागमा जान्छ अनि मात्र दिमागले के हो त बिषय, अध्ययन गर्न थाल्छ । त्यसका लागि पहिला दृश्य र आवाज राम्रो हुनुपर्छ । अनि मात्र त्यसले दर्शकलाई आनन्द दिन्छ । राम्रो बिषय छ तर दृश्य र आवाज राम्रो छैन भने दर्शक बिचमै उठेर हिडछन् । यहि कुरालाइ ध्यानमा राखेर मैले रेड फोर के क्यामेरा नेपालमा भित्रियाए र त्यसलाई टेष्ट प्रोजेक्टको रुपमा चलचित्र ‘काठमाडौँ” बनाए जुन सफल पनि भयो । आज नेपाल रेडमय भएको छ । अब प्राबिधिक रुपमा फड्को मारिसकेको छ । अब कथा, बिषयबस्तु र अनुसन्धानमा ध्यान दिनु पर्छ । साथै हलले पनि सहयोग गर्नु पर्छ । आज जुन हलमा पनि हलिउड र बलिउडका चचित्रहरुले पहिलो प्राथमिकता पाउँदा नेपाली चलचित्र बिस्थापित हुन सक्छ । राज्यले पनि नेपाली चलचित्रको स्थान तोक्नु पर्छ र प्राथमिकतामा राख्नु पर्छ ।

भनिन्छ चलचित्र निर्देशक सिर्जना हो भने त्यस सिर्जना परिपूर्ति चै प्रविधिले गर्छ, अब नेपाली चलचित्रको कम्जोर पक्ष निर्देशक हुन् कि प्रविधि ?

सबै भन्दा ठुलो कमजोरी बजारको हो । त्यस पछि नीति कम्जोर हो । चलचित्र जति सुकै राम्रो बनाउनुस निर्माताको हातमा पैसा आउदैन । उसले चलचित्र किन बनाउने ? प्रबिधि र निर्देशन भन्दा पहिला बजार र यसका नीति राम्रो बन्नु पर्यो । त्यस पछि नेपाली चलचित्र आफैमा शसक्त बन्छन । 

समग्रमा हेर्ने हो भने नेपाली चलचित्र निर्देशकहरु आफ्नो पेसाप्रति कति समर्पित र इमान्दार छन् ?

म अरुको कुरा भन्न सक्दिन । मेरो आफ्नो बारेमा भन्ने हो भने हिजो पनि नेपाली चलचित्रमा थिए, आज पनि छु र भोलि भोलि पनि नेपाली चलचित्रमा नै बाच्ने छु र मर्छु पनि । 

नेपाली चलचित्र उद्ध्योगले किन प्रविधिको सही सदुपयोग गर्न सकेको छैन ?

सबै भन्दा पहिलो कुरा दक्ष प्राविधिक नभएर नै हो ।  त्यसैले प्राविधिकहरु पहिला आफैमा दक्ष हुनुपर्यो । अब पहिलाको जस्तो समय छैन । हिजो एनलक सिष्टम थियो भने आज डिजिटलको समय छ । जसलाई अध्ययन चाहिन्छ । हिजो नटबल्टु कस्नु पर्थ्यो भने अहिले हातको औला चलाएको भरमा काम हुन्छ ।  अहिले प्रविधि पाँच औला भित्र आइसकेको छ । अहिले तागत हैन दिमाग चाहिन्छ ।

जनयुद्घबाट बेष्ट एक्टरको रुपमा नेशनल अवार्ड प्राप्त गर्ने एक्टर बन्न वा क्रोध चलचित्र निर्देशिन गरेर पाँच बर्षको कलेक्सनको रेकर्ड तोडने निर्देशक बन्न कुन सजिलो ?

मेरो अर्को कुनै पेश छैन । म जुन काम गर्छु, त्यो काममा म रमाएको छु, खुशी छु । त्यसैले यी दुवै मेरोलागि सजिलो छ । जुन पेशामा हात हाल्छु, म त्यस बारेमा ठिक छु छैन अध्ययन गर्छु । म पहिले भारत जाँदा एक्टर बन्न गएको हो । त्यसपछि मैले महेश भट्टको फिल्डवर्क हेर्ने मौका पाए । मैले आजसम्म कसैको पनि असिस्टेन गरेको छैन । फिल्डवर्क हेरे पछि आफुलाई मुल्यांकन गरे र निर्देशक बन्न सक्छु भन्ने लागेर निर्देशकमा हात हाले । त्यसैले म पहिला निर्देशक हुँ अनि त्यसपछि मात्र म कलाकार हुँ । 

तपाई चलचित्रमा सिर्जना खोज्नु मन पराउनु  हुन्छ किजुन चीज बिक्छ त्यसको खोजिमा लाग्न मन पराउनु  हुन्छ ?

दुवै कुरालाई हेर्छु । कहिले बजारलाई यो चाहिन्छ भनेर सिर्जनामा ढाल्छु र कहिले सृजनालाइ बजारको माग अनुरुप ढाल्छु । 

अन्त्यमा,

सबै भन्दा पहिला तपाइको यो वोबसाइडलाइ धन्यवाद दिन्छु । यहि साउन २३ गतेबाट श्रीकृष्णको श्रेष्ठको सविनय भेट र नेपाल मुभिजको दोस्रो प्रस्तुति चलचित्र ‘कोहिनूर’ तपाइको शहरमा आउदैछ । यो पारिवारिक चलचित्र हो । त्यसैले सम्पूर्ण दर्शकलाई परिवार सहित चलचित्र हेरेर प्रतिक्रिया दिइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply