‘मेरो फिल्मको थिम ह्युमन इमोसन हो’ : अनिल थापा, निर्देशक ‘को आफ्नो’

फागुन ७ गतेबाट चलचित्र ‘को आफ्नो’ नेपाली हलहरुमा लाग्दैछ । चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ । दर्शक दिर्घले ट्रेलरलाई निकै रुचाउनु भएको छ । फरक स्वादको यस चलचित्रले नेपाली चलचित्र जगतमा सकारात्मक परिवर्तन ल्याउन निकै मद्दत गर्ने भनाई अहिले चली रहेको छ । चलचित्रमा ऋचा शर्मा, सुशांक मैनाली, सुवास थापा, मेनुका प्रधान, शान्ति गिरी लगायातका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको निर्देशन अनिल थापाले गर्नु भएको छ । निकै समय अन्तराष्ट्रिय मुलुकमा बसी ‘चेन्जिंग स्याडो’ र ‘सेकेन्ड लुक’ जस्ता साना प्रोजेक्टबाट अनुभव बटुली नेपाली चलचित्र उद्द्योगमा प्रवेश गरेका अनिल थापासँग कोरीबाटी डट कमका संवादाता राज कुमार खातीले गरेको कुराकानी :

१) ‘को आफ्नो’मा यहाँले निर्देशक र निर्माता भएर चलचित्र तयार गर्नु भयो, के भनेर चिन्ने हजुरलाई निर्माता या निर्देशक ?

प्रश्नको लागी सर्बप्रथम धन्यबाद, निर्माता र निर्देशक भन्दा दुवैको भिन्ना भिन्नै अर्थ छ । दुवै महत्वपूर्ण छ तर मेरो डिरेक्सन मेरो प्यासन भएकोले म छिरेको चाही निर्देशनमा हो । डिरेक्सनमा मेरो क्रिएटिभिटी भएकाले आफैलाई निर्देशक भनेर चिनाउन चाहन्छु ।

२) ‘को आफ्नो’सम्मको यात्रा कसरी तय गर्नुभयो ?

‘को आफ्नो’को यात्रा यसको कथाबाट सुरु भयो । मैले करिब छ सात महिना लगाए होला यसको स्टोरी र स्क्रिन प्ले लेख्न । मैले आफ्नो लिजर टाइममा, कामको बीचमा अनि विकेन्डमा उतै अमेरिकामा ती कार्य गरेर सक्काए । त्यसपछी २ वर्ष अगाडी सन् २०१४ मा म यहाँ आए र ८ महिना बसेर आफ्नो क्रु एसेम्बल गरे अनि एक्टर, एक्टर्स यहीं फाइनल गरेर काम सुरु गरेको हो ।

३) ‘को आफ्नो’को तयारी गर्दा तपाइँ नेपाल आउनु भयो, अगाडीबाटै नेपाली सिने जगतका व्यक्तिहरुसँग चिनजान थियो कि, कसरी कलाकारहरु खोज्नु भयो ?

मेरो खासै चिनजान त थिएन । तर अलि अलि मुभिहरु हेर्थे, फिल्मको हिस्ट्री थाहा थियो, निर शाहहरुको पालादेखिनै नेपाली फिल्म हेरिन्थ्यो भने बीचमा राजेश हमाल ज्युहरु आउनु भयो तेती बेला म अमेरिकामै थिए । त्यसपछि डिजिटल एराहरु आयो, ‘कागबेनी’ जस्ता चलचित्रहरु आए, निश्चल ज्युको ‘लूट’ जस्ता चलचित्र आए । म नेपालको चेन्जिंग ल्याण्डस्केप बारे सचेत चै थिए । त्यसैले पनि नेपाली दाजु भाइहरुसँग बसेर सिक्ने सिकाउने, कोलाब्रेट गर्ने उद्देश्यले पनि आएको हुँ । नेपालमै हुर्किएको हुनाले मेरा कजनहरु नेपालकै मिडियाहरुमा थिए, त्यसैले कलाकारहरु र क्रु एसेम्बल गर्न त्यति गारो भएन मैले अरुलाईत खासै चिनेको थिएन ।

४) ‘को आफ्नो’मा निकै अनुभवी र प्रतिभाशाली कलाकारहरुले अभिनय गरेका छन्, एउटा निर्देशकको तवरबाट भन्दा चलचित्र कस्तो बनेको छ ?

सबै डिरेक्टरलाई आफ्नो चलचित्र त मन परिनै हाल्छ । र पनि अबजेक्टभली विभिन्न रिसोर्सेस, बजेट, समयका हिसाबले बताउँदा एकदमै राम्रो गर्ने कोसिस गरेका छौ । मैले दुइ वटा सर्ट फिल्म गरेको छु । आफुले गरेको काम पनि कहिलेकाहिँ ठिकै लाग्छ । यो भन्दा अलिक राम्रो हुन्थ्यो कि जस्तो लाग्छ र मैले गर्न सक्ने निकै मेहनत गरेको छु । यसको आउटकम चाही डिसेम्बर फिफ्थ सन् २०१५ मा पहिलो चोटी लस एन्जल्समा प्रिमिएर गरियो । त्यो भन्दा अगाडी हामि कि साउण्ड डिजाइनरसँग बसिन्थ्यो, कि एडिटरसँग बसिन्थ्यो, कि अरु सँग बसिन्थ्यो र रव फाइलमा मात्र खेलिन्थ्यो र खासै थाहा हुँदैनथ्यो । जब पहिलो चोटी प्रिमिएर गरियो, बती झ्याप्प अफ गरेपछी मुटु ढुक ढुक भाको थियो, त्यहाँ ३५० भन्दा बढी उपस्थित थिए । सबैले चलचित्रलाई अप्रिसियट गरे र निकै मन पराए अनि राम्रो प्रतिक्रिया पनि दिए । त्यसपछि मैले सोचे कि मैले आफैलाई ठुलो अडियन्स बनाएर बनाएको फिल्म अरुले पनि सपोर्ट गरे, मन पराए, त्यसपछी मलाई थाहा भयो कि चलचित्र राम्रै बनेको छ । नेपाली दर्शकले पनि चलचित्र मन पराउनु हुन्छ । राम्रो फिल्म चलेको छ यहाँ र हामीले काष्ट देखि लिएर कुनै पनि कुरालाई कम्पर्माइज गरेका छैनौ । कलाकारहरुको बारेमा बताउँदा वहाँहरु नेचुरल्ली ट्यालेन्ट हुनुहुन्छ र त्यसमा मैले अझ पुष गरेर आउटकम निकालेको छौ । र त्यसले गर्दा चलचित्र प्रति सबै जना सन्तुष्ट हुनुहुन्छ ।

५) ‘को आफ्नो’ कस्तो चलचित्र हो ?

यो चलचित्र सोसल्ली इमोसन ड्रामा खालको चलचित्र हो यसमा थ्रिलर कम्पोनेन्ट पनि छ, प्ल्च छ, ट्वीस्ट टर्ण पनि छ । यो अलिक कन्भेन्सन खालको हैन कसैले प्रिडिक्ट गर्न सक्दैन आफ्नै तरिकाले सुरु हुन्छ, क्यारेक्टरहरु स्टयाब्लिस भैसकेपछी अनि बल्ल स्टोरीले मोड लिन थाल्छ । यो चलचित्रमा एकदमै क्यारेक्टर बेस भएको कारणले क्यारेक्टरले जहाँ जहाँ लान्छ त्यतै त्यतै गइन्छ । एकादमै त्यो फर्मुला खाले, बलिउड हलिउड केहि त्यस्तो नगरिकन हामीले ओर्जिनल र प्युओर इमोसनमा तयार परेका छौ । अरुत फागुन ७ गते थाहा हुन्छ ।

६) चलचित्र प्रति कसरी आफ्नो यात्रा निर्धारण गर्नु भयो ?

करिब २७ वर्ष अगाडी म अमेरिका गए । बिजनेस स्कुलमा गइयो र मार्केटिंगमा ग्राजुएट गरियो र त्यहींनै काम पनि गरियो । तर काम जे भए पनि पेशा जे भए पनि म फिल्मको सोखिन भएकोले लिजर टाइममा फिल्म हेर्ने गर्दथे । यहि पनि त्यति खेर अमिताब बचन, शत्रुधन सिंन्हा, बिनोद खन्नाका सबै फिल्महरु हेरिन्थ्यो । यहाँ जय नेपाल, विश्व ज्योति, रन्जना र अशोक ४ वटा हलहरु थिए । उता गएर पनि खुब हेरिन्थ्यो । विवाह भएपछी पनि फुरसदमा फिल्म चाहीं हेरी हाल्ने गरिन्थ्यो । सोख चाही पहिले देखिनकै थियो । बिस्तार साथीभाई पनि त्यस्तै परे र कलेजमा म क्रियटिभ राइटिंग पनि गर्थे । त्यसैमा छ सात वर्ष अगाडी मेरो बच्चा पनि भैसकेको थियो र त्यहि समय तिर एक जना नेपाली डिरेक्टर त्यहाँ आउनु भयो, र वहाँको एक प्रोजेक्टको लागी इंगलिसमा एउटा स्क्रिप्ट लेख्नु पर्ने थियो र मैले लेखेर दिएपछी वहाँ साथी हुनु भयो र केहि गरौन त भन्ने भावना त्यहाँबाट पनि आयो । अनि सोचे लाइफ इज टू सर्ट, के छ र जिन्दगिमा भन्ने भएपछी बरु ए फलानो फिल्ममा यो गरेको भए पनि हुन्थ्यो भनेर बस्नु भन्दा त एक्सपेरिमेन्ट गरुन भन्ने भयो, स्विमिंग खेल्नलाई त पहिला पानीमा हाम फाल्नै पर्छ भन्दै एक्सपेरिमेन्ट गरौन त भनेर मैले दुइटा शर्ट फिल्म बनाए । त्यसमा स्टोरी आफै लेखेर, राम्रा राम्रा एक्टरहरु खोजे र एडिटरहरुमा त्यहाँकै हलिउडका टप एडिटरहरुलाई लिएर अनुभवका लागी सर्ट फिल्म बनाए । ‘चेन्जिंग स्याडो’ र ‘सेकेन्ड लुक’ भन्ने बच्चाको बारेमा ती दुइ सर्ट फिल्म गरे पछी केहि मेकानिक्स्,टेक्निकल, स्टोरी राइटिंग, क्यारेक्टर आर्क भनेको के हो?, एक्ट १, एक्ट २ लगायत कसरी गर्ने थाहा भयो र अब अलिकती अगाडी बढौ भनेर त्यहाँ फिचर फिल्म बनाउने भन्ने कुरा निकै महँगो छ । र यहि आएर अब नेपाली दाजुभाई मिलेर यहिँनै किन नगर्ने भन्ने सोच आयो र यसरी चलचित्र क्षेत्रमा आइयो ।

७) ‘को आफ्नो’को ट्रेलर हेर्दा चलचित्रले नेपाली मौलिक कथा बोकेको जस्तो लाग्छ, तपाई लामो समय नेपाल बाहिरनै बस्नु भयो कसरी त्यस्तो कथा फुर्यो त ?

नेपाली मौलिकता भन्दा पनि यसमा चाही ह्युमन इमोसन छ । यसमा मिडियम एउटा नेपाली भाषा हो, गाउँ एउटा नेपाली गाउँ हो, भेष भुषा नेपाली हो, अनि सबटाइटल गरेरहेर्दाखेरी विदेशमा पनि अप्रिसियट गरेका छन् । ह्युमन इमोसन भन्ने कुरा जहाँ पनि एकै हुन्छ, आफ्नो छोरा गुमाउँदाको इमोसन विदेशीको पनि त्यहि हो भने नेपालीको पनि त्यहि हो । मेन मेरो थिम चाहीं ह्युमन इमोसन हो । र कथा पनि त्यसै सँग सम्बन्धित छ ।

८) अन्य देशका चलचित्रहरु पनि यहाँले हेर्नुहुन्छ, नेपाली चलचित्र कस्तो लाग्छ, यसलाई सुधार्न के गर्नु पर्ने जस्तो लाग्छ हजुरलाई ?

एउटा कुरा के भने फिल्ममा क्रियटिभ त हुनै पर्छ । आजकलको टेक्नोलोजीको जमानामा हामीले धेरै कुरा क्रियटिभली गर्न सकिन्छ । तर क्रियटिभ जिनियस भएर मात्र हुन्न प्रोडक्सन डिजाइनको लागी पैसा पनि चाहिन्छ । हलिउडका फिल्महरु साधारण फिल्म पनि निकै बजेटका हुन्छन जुन २० मिलियन डलरको हुन्छ, जुन एकदमै लो बजेटको हो तर हाम्रो देशको फिल्महरु ५० लाख देखि १ करोड सम्मका हुन्छन । त्यसले हाम्रो प्रोडक्सन डिजाइनको लागी पनि पैसा पुग्दैन । हामी आफ्नै स्तरको अनि त्यहि बिषयवस्तुलाई लियर फिल्म बनाउँछौ । अब यहाँ बक्स अफिस पनि नहुँदाखेरी प्रोडूसरहरुलाई गारो छ । अब पैसा भाकाहरुले आफ्नो मजाको लागी गर्ने भनेको कुरा भिन्न हो । तर व्यवसायनै गर्नको लागी चाहीं सम्बन्धित निकाय र गभरमेन्टले पनि त्यो बातावरण बनाईदिन पर्छ । बक्स अफिस चाहिन्छ जसले प्रोपर कलेक्सन, प्रोपर अकाउन्टिंग गरोस । त्यसो गर्न सक्यो भने नेपालमा ट्यालेन्ट नभएको हैन । मैले मेरै एक्टर एक्टर्सलाई देखे, वहाँहरु A लेभलका छन् । ऋचा शर्मा, सुशांक मैनाली त्यसतै सुवास थापाको नाना पाटेकर भन्दा कम एक्टिंग छैन । नेपालमा ट्यालेन्ट डिरेक्टरहरु पनि छन् तर त्यसका लागी बातावरण छैन । त्यो दरमा चाहि हामि अलिकति कम छौ तर लो बजेटमा पनि निकै राम्रा फिल्म बनेका छन् जस्तै कालो पोथी जुन मैले बुझेको छु निकै राम्रो फिल्म बनेको छ । त्यस्तै निश्चल बस्नेत ज्युले जुन लो बजेटमा क्रियटिभ काम गर्नु भएको छ त्यो नै तारिफ योग्य छ । यहाँ अझ धेरै राम्रो गर्न सकिन्छ तर त्यहि हो अब अलिकती बजेटको अभावले र सम्बन्धित निकायले बिचार नपुर्याउनाले अलिकती खस्केको हो । त्यहि पनि गरिराख्नु भाको छ त्यस्तो बातावरणमा पनि फिल्महरु बनाइ राख्नु भाको छ अब त्यसमा धेरै गर्ब गर्छु ।

९) ‘को आफ्नो’ले नेपाली परिवेशमा कसरी ब्यापार गर्ला त ?

त्यो चाही अब यसै भन्न सकिन्न । ब्यापार गरे राम्रै हो, पैसालाई कसले नाई भन्नला, तर त्यो मेरो सेकेन्डरीमा पर्छ, मतलब पैसा फालाफाल भएर भन्ने कुरा हैन । यसमा मेरो फिल्ममा मात्रको लगानी हैन मेरो डेढ दुइ बर्षको काम छाडेर यता लागेको कुरा पनि छ । नेपालको कन्टेस्टमा ब्यापार गर्ला नगर्ला भन्न गारो छ । यहाँ विभिन्न कुराहरु हुने रहेछ त्यो बल्ल थाहा भयो । कतिवटा फिल्म चलेको छ, त्यो भन्दा पहिलेकोले कतिको ब्यापार गर्यो भन्ने कुरा पनि हुन्छ त्यस्तै लकले पनि हुन्छ, म भगवानसँग पनि प्राथना गर्दैछु । हामीले राम्रै फिल्म बनाएका छौ, राम्रै फिल्मको दाँजोमा आउँछ अब हेरौ कस्तो ब्यापार गर्छ । अहिले फेसबुकको जमाना छ, सोसल नेटवर्कको जमाना छ र हामी दर्शकलाई तान्ने कोशिसमा त छौ र दर्शकले एक पटक हेर्नु भयो भने पक्का चलचित्रलाई मन पराउनु हुनेछ ।

१०) चलचित्रको प्रचार प्रसारमा कतीको जुट्नु भएको छ ?

हामीले भ्याए सम्म, सके सम्म गरिरहेका छौ । म दुइ हप्ता जती भयो बाहिरबाट आएको । यहाँ टिम छैन, उता भाको भए फरक फरक काममा जिम्मा लिने टिम हुन्छ तर यहाँ छैन, सबै काम एकै जनाले गर्नु पर्ने भएको छ । त्यसले गर्दा दौड धुप भैरहेको छ । टिभी रेडियो बाट प्रचार गरिरहेका छौ तर बिजुलीले गर्दा त्यसलाई पनि नराम्रो प्रभाव त पारेको छ । अरुचाही गरिरहेका छौ ।

११) अन्त्यमा

सर्वप्रथम तपाइहरुलाई धन्यबाद । दर्शकहरुले एक पटक ‘को आफ्नो’ हलसमम्म आएर हेरिदिनु भयो भने डीसपोइन्ट हुनुहुन्न । सब्जेक्ट म्याटर भन्ने कुरा कसैलाई ड्रामा मन पर्छ, कसैलाई एक्सन मन पर्छ, कसैलाई थ्रिलर मन पर्छ त्यसमा पनि अब दर्शकले फिल्म हेरिदिनु भयो भने, यसको मेकिंग देखि लिएर, स्टोरी पनि राम्रो छ र अलिकती फरक किसिमको चलचित्र हामीले तयार पारेका छौ र फरक स्वाद पाउनुहुनेछ । गीतहरुमा पनि हामीले क्रियटिभ काम गरेका छौ जस्तै मोडर्न, ज्याज जस्ता कुराहरु राखेका छौ । अरु अब फागुन ७ मा हलसम्म पुगेर चलचित्र ‘को आफ्नो’ हेरी मुल्यांकन गरिदिन आग्रह गर्दछु ।

Leave a Reply